
म्याग्दी – गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आइतबारदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आइतबार देखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) ले जनाएको छ ।
बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए। अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएका ३० हजारभन्दा बढी बिरामी वार्षिकरूपमा तातोपानीमा स्नान गर्न आउँछन् ।
मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा बिरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिनभित्रबाट बिरेनुनको गन्धसहित निस्कने तातातोपानीमा नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्यास्ट्रिक तथा अन्य बाह्य रोग निको हुने विश्वासमा वर्षेनी नुहाउनका लागि बिरामी आउने गर्दछन् ।
कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै हुने गर्दछ ।