
काठमाडाैँ – बर्दियाकी सुशीला खत्री स्वस्थानीको कथा सुन्न हरेक साँझ जेठी बुहारीको घरमा पुग्छिन् । बुहारीको घर केही तल छ । घरको सबै काम सकेर सासु बुहारी आगो ताप्दै विदेशबाट छोराले पठाएको ट्यावमा स्वस्थानी कथा सुन्छन् । उनीहरुले युट्युब च्यानलमा राखिएका स्वस्थानी कथा सुन्ने गरेका छन् ।
सुशीलाको घरमा स्वस्थानी नपढेको थुप्रै वर्ष भयो । हरेक वर्ष उनी स्वस्थानीको बर्त बस्थिन् र पूर्णिमाको दिन ठूलो पूजा लगाउँथिइन् ।
ठूलो घरमा सबै छोराहरु एकै ठाउँमा बस्थे । परिवार ठूलो थियो कथा पढ्न मान्छे पनि हुन्थे र सुन्ने पनि । तीन छोराका तीन घरको माहोल फेरियो । त्यसपछिका केही वर्ष पनि उनको घरमा स्वस्थानीको कथा वाचन हुन्थ्यो । समय बदलियो सबै लाखा पाखा लागे । पछि न कसैले पढ्न इच्छा देखाउन थाले न कसैले सुन्न । उनी भन्छिन् ‘त्यसपछि मेरो घरमा स्वस्थानी कथा पढ्न छोडियो ।’
करिब १० वर्ष भयो उनको घरमा स्वस्थानीको कथा नपढिएको । किताब दराजमा थन्किएको छ । यो वर्ष त निकालरे पढाैँ उनले कसैलाई भन्न सक्दिनन् । युट्युबले उनलाई सजिलो बनाइ दिएको छ ।
जेठी बुहारीको छोराले विदेशबाट पठाएको ट्याबमा हरेक साँझ उनीहरुले स्वस्थानीका अध्याय सुन्ने गरेका छन् । यो वर्ष पनि यस्तै भयो अर्को वर्ष मिल्यो भने बर्त बसेर पूजा लगाउने हो उनले भनिन् ।
काठमाडौँ बालाजुका चित्रमानी पराजुलीले घरमा स्वस्थानी कथा नपढेको ३ वर्ष भयो। हरेक वर्ष घरमा उनी आफैले स्वस्थानीको कथा पढ्ने गरेका थिए ।
उनको घरमा स्वस्थानी सुन्ने मान्छे कोही छैन । सन्तान सबै विदेश छन् घरमा बुढा बुढी मात्र । सुन्ने मान्छे कोही नहुँदा पढ्न मन लाग्दो रहेनछ उनले भने ‘स्वस्थानी माता की जय’ भन्दा ‘जय’ भन्नेहरु वरिपरि हुँदा त्यसको माहोल नै बेग्लै हुन्छ ।’ सबैले ‘जय’ भन्दा घर त गुञ्जिनु पर्यो नी उनले थपे । उनी भन्छन् ‘घरभरिका केटाकेटा केटी, बुढापाका सबै बसेर स्वस्थानीको कथा पढ्नु को मजै बेग्लै हुन्छ ।’
उनी लाग्छ पछिल्लो समय स्वस्थानीको कथा घर-घरमा कम पढ्न थालिएको छ । ‘मान्छेहरु ठूलो परिवारबाट सानो परिवारमा रमाउन थाले जसकारण उनीहरुको दैनिकी फरक हुनथाल्यो जसमा यस्ता कुराले स्थानमा पाउन छाडे’ उनले भने ।
पोखरामा रहँदा उनले सधै हजुरबुवा बुवाहरुले पढेको कथा सुने । ३२ सालमा उनी काठमाडौँ आए । उनको परिवार सानो भयो । सरकारी जागिरे उनी पनि कामको सिलसिलामा बाहिर जान थाले । घरमा कथा पढ्ने चलन टुट्न थाल्यो । घरमा भएको वर्षमा पढ्थे नत्र छुट्थ्यो ।
अहिले त घरमा बुढाबुढी मात्र छौँ उनले भने स्वास्थानीको किताव दराजमा थन्किएको छ । ‘यसो हेर्छु म मात्र हैन पहिला पढ्ने धेरै ठाउँमा पढ्न छोडेको मैले देखेका छु’ उनले थपे ।
उनलाई लाग्छ अहिले ३५ प्रतिशत भन्दा कम घरमा सायद स्वस्थानी कथा पढिन्छ ।
तर अस्ट्रेलियामा रहेका उनका छोरा बुहारीले पढ्ने गरेका छन् । उनलाई लाग्छ पढ्ने मान्छे कोही नभएकाहरुका लागि युट्युबका भिडियोले सहज बनाइदिएको छ ।
काठमाण्डौँ हात्तिगौडाकी धाना देवी भट्टको घरमा स्वस्थानी कथा पढ्न थालेको ६ वर्ष भयो । हरेक साँझ छोरा हेमन्तले आमा र बुवालाई स्वस्थानीको कथा पढेर सुनाउँछन् । २०६९ सालमा भट्टको परिवार महेन्द्रनगरबाट काठमाडौँ सर्यो । भट्ट भन्छन् ‘महेन्द्रनगरमा हुँदा पण्डितहरुले पढेको सुनिन्थ्यो यहाँ आएपछि आफै पढ्न थालेका छौँ ।’
स्वस्थानीको अन्तिम दिन ठूलो पूजा नगरेपनि घरमा सानो पूजा गर्ने गरेको उनले बताए ।
…
नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका पनि स्वस्थानी पढ्ने चलन कम हुँदै गएको बताउँछन् । उनलाई लाग्छ जसको प्रमुखकारण कारण यो कथामाथि मानिसहरुको अविश्वास बढ्दै जानु हो ।
पहिलेको र अहिलेको समाज फरक छ । यो बुढाबुढीहरुले गर्ने कुरा हो भन्दै अहिलेका युवा पुस्ताहरु स्वस्थानी कथाबाट तर्किदै गएको उनलाई लाग्छ ।
उनी भन्छन् ‘हामीले स्वस्थानीको महत्व बुझेका छैनौँ ।’ स्वस्थानीमा हाम्रो हिमाल छ, खोला छन् । यसमा हाम्रै भौगोलिकता को वर्णन गरिएको छ ।
यो एक कथा हो । जुन कथामाथि अहिलेको पेढेलेखेका मानिसहरुले विश्वास नगर्ने तथा नकारात्मक रुपमा लिन थालेको उनको बुझाइ छ । कथामा हात्तिले बोल्छ, कुकुरले बोल्छ, चराले मान्छे जस्तै बोल्छ जुनकुरालाई प्रतिकात्मक रुपमा लिन उनले आग्रह गरे ।
‘जबसम्म हामीले आफ्नै देशका कथाहरुलाई बुझदैनौँ, त्यसलाई आत्मसाथ गर्दैर्नौ तबसम्म हामीहरुको उन्नती हुँदैन भन्ने पाठ पढाएको छ’ उनले भने ।

भक्तपुरका गोविन्द ढुंगेलको घरमा आइतबार स्वस्थानी व्रत समापन गरिँदै।