
काठमाडौँ – विसं २०६० को दशक सुरु भएसँगै नेपाली युवायुवती लाखाैंको सङ्ख्यामा पढ्न, काम गर्न अथवा अवसरको खोजीमा विदेशिए। खासगरी देशमा व्याप्त राजनीतिक भद्रगोल, गरी खाने वातावरणको कमी र बेरोजगारीले धेरै युवा बाहिरिए।
त्यसरी बाहिरिनेमध्येका एक हुन् निजगढ घर भई काठमाडौँ बसोबास गर्दै आएका विनय गौतम। ३५ वर्षीय विनय १३ वर्षअघि पढ्न र केही अवसरको खोजीमा बेलायत छिरेका हुन्। उनले खासगरी बेलायतमा पढ्ने र होटल रेस्टुरेन्ट क्षेत्रमा काम गरे। उनी भन्छन्, ‘मैले बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्म भएर काम गरेँ। कामलाई सानो–ठूलो भनिनँ।’
काठमाडौँको शंखमुलस्थित आलोकनगरमा ‘कोसेली थकाली’ नामक रेस्टुरेन्ट उद्घाटन गरेका विनयले भने, ‘बेलायतको अनुभवले अब उद्यमी भएँ।’
उनले कोसेली थकाली मध्यमस्तरको लगानीमा खोलेको बताए। जसमा ९ जनालाई रोजगारी दिएको उनले सुनाए। चर्चित नेपाली थकाली ब्राण्डलाई प्रमोसन गर्ने हिसाबले थकाली रेस्टुरेन्ट खोलेको उनी सुनाउँछन्। भन्छन्, ‘अर्ग्यानिक हिसाबको थकाली खाना र सेकुवा ‘कोसेली थकाली’ को मुख्य पहिचान हुनेछ।’
त्यसका आलवा आफ्नो रेस्टुरेन्टमा ढिंडो, कालिजको मासु, खसीको भुटन र टाउको, मम, चाउमिन, पेयपदार्थलगायत नेपालमा चलिआएका धेरैजसो आइटम पाइने उनले जानकारी दिए। विनय भन्छन्, ‘हाम्रो रेस्टुरेन्टले गुणस्तरमा सम्झौता गर्नेछैन। अजिनोमोटोको प्रयोग हुनेछैन र ओपन किचनको व्यवस्था रहेको छ।’
अर्ग्यानिक खाना–खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफ्नो मूल लक्ष्य रहेको उनले सुनाए। उनले विद्यार्थीलाई १० प्रतिशत छुट रहेको जानकारी दिए।
‘मलाई नेपालमा कमाउनुपर्ने केही छैन। स्वदेशमै केही गरौं, आफूलाई व्यस्त बनाउँ, रोजगारी सिर्जनामा योगदान दिउँ भन्ने आशयले होटल व्यवसाय थालेको हुँ’, गौतमले भने।