
काठमाडौँ – पोखरासहित कास्कीका विभिन्न क्षेत्रमा आइतबार परेको भीषण असिना–पानीका कारण हिउँदे तरकारी तथा तोरी बालीमा क्षति पुगेको छ।
असिना–पानीले १५ देखि २० लाख रुपैयाँ बराबरको तरकारीबाली तथा तोरीमा क्षति गरेको प्रारम्भिक आँकलन कृषि ज्ञान केन्द्र कास्कीले गरेको छ।
केन्द्रका प्रमुख शालिकराम अधिकारीका अनुसार आइतबार दिउँसो करिब १५ मिनेट परेको भीषण असिना–पानीले अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका किसानले लगाएको काउली, बन्दासहितका तरकारी बाली र भित्र्याउने बेला भएको तोरीमा क्षति पुगेको हो।
‘पोखरा उपमहानगर क्षेत्रमा ठूलो मात्रामा असिना परे पनि त्यहाँ खेतीपाती कम रहेकाले कृषिजन्य नोक्सानी त्यति भएको छैन’, केन्द्रका प्रमुख अधिकारीले भने, ‘तर बजारभन्दा बाहिरी क्षेत्रमा लगाइएका काउली, बन्दा, लसुन–प्याज तथा तोरी बालीमा क्षति पुगेको छ।’
पोखरा उपमहानगरको मुख्य बजार क्षेत्र महेन्द्रपुल, न्यूरोड तथा चिप्लेढुंगामा बढी असिना परेको थियो। सो क्षेत्रमा खेतीपाती कम रहेकाले कृषिजन्य नोक्सानी न्यून रहेको केन्द्रले जनाएको छ। कौशीखेतीमा भने असिनाले क्षति गरेको छ।
बजार बाहिरको भलाम, दोबिल्ला र मालेपाटन क्षेत्रमा पनि असिना पानी परेको र विशेष गरी तरकारी खेती हुने यी क्षेत्रका किसान मारमा परेको अधिकारीले बताए।
यसैगरी माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा असिना–पानीले बढी क्षति गरेको केन्द्रले जनाएको छ। ती क्षेत्रमा तरकारीसँगै तोरीसहितका हिउँदे बालीमा क्षति पुगेको हो। कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले भने, ‘यो वर्ष तोरी निकै राम्रो फलेको थियो। तर असिनाले किसानलाई मारमा पा¥यो। हामीले क्षतिको विवरण संकलन गरिरहेका छौँ।’
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा बदली तथा वर्षा भएको हो। सोमबार पनि पहाडी क्षेत्रमा बदली तथा वर्षाको सम्भावना रहेको छ।