
काठमाडौँ – पोखरामा गत आइतबार परेको भीषण असिना–पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।
बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफुलसहित बालीनाली नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए ।
कडारियाले राज्यले कृषकलाई दिएको बिमा सुविधा समेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताए । उनले असिनाका कारण सो वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफुल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको जानकारी दिए ।
पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफुल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।
पोखरामा गत फागुन ८ गते आइतबार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो ।
पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए ।