जयनन्दसँग ‘छक्का पञ्जा ४’ मा काम गर्ने दीपकको सपना रह्यो अधुरै

जयनन्दसँग ‘छक्का पञ्जा ४’ मा काम गर्ने दीपकको सपना रह्यो अधुरै
+
-

काठमाडौँ – गायक तथा कलाकार जयनन्द लामाको बुधबार ६६ वर्षको उमेरमा निधन भएको छ। आफ्नै निवास अगाडि लडेको अवस्थामा उनी भेटिएका थिए। प्रहरीले उनको मृत्यु भइसकेको जनाएको छ।

उनको अप्रत्याशित मृत्युपछि निर्माता, निर्देशक तथा हाँस्य कलाकार दीपकराज गिरीले फेसबुकमा उनीप्रति श्रद्धाञ्जली दिँदै लामासँग छक्का पञ्जा ४ मा सँगै काम गर्ने इच्छा अपूरो रहेको बताए।

देश सञ्चारसँगको कुराकानीमा दीपकले भने, ‘उहाँ मलाई सारै मन पर्ने कलाकार हुनुहुन्थ्यो। गीतसँगै अभिनयको बारेमा मलाई थाहा थियो। छक्का पञ्जा १ मा मैले काम गर्न अफर गरेँ।’

दीपकले जयनन्दलाई उनको असाध्यै चर्चित गीत ‘कलकते काइयो’ बाट चिनेका थिए। पछि रेडियो नेपालमा दीपक नाटकको कलाकार भएर जाँदा जयनन्दसँग भेट भयो र भेट बाक्लियो। छक्का पञ्जा १ मा बुद्धि तामाङको ससुराको पात्र चाहिएकोले दीपकले जयनन्दलाई प्रस्ताव गरे। टेलिभिजनमा कहिलेकाहीँ अभिनय गरेको देखिने उनी विद्यालयमा संगीत पढाउँथे।

दीपकका अनुसार यो प्रस्तावलाई जयनन्दले खासै चाखले हेरेका थिएनन्। ‘उहाँले मन नलाईनलाई काम गर्नुभएको थियो तर चलचित्र प्रदर्शनपछि उहाँले आफ्नो भूमिकाको तारिफ पाउनु भएछ। मलाई फोन गरेरै धन्यवाद दिनुभयो। अनि मलाई जहिले पनि बोलाउ भाइ भन्नुभएको थियो। त्यसपछि हामीसँग छुट्नु भएको थिएन।’

दीपकले यही स्मरण फेसबुकमा लेखेका छन्। जयनन्दको डायलगसमेत पनि राखेर उनले लेखेका छन्, ‘ज्वाइँले बहिनी कुटेछ, राम्रो धेरै राम्रो, तर कुटेको अलि मिलेनछ, त्यही भएर मान्छे कसरी कुट्ने भनेर सिकाउनु आएको …’ यस्ता थुप्रै संवादले म उहाँलाई सम्झिरहन्थे, सम्झिरहनेछु।’

गायक जयनन्दले दीपकसँग छक्का पञ्जा १ देखि नै सँगै काम गरेका थिए। ‘छक्का पञ्जा १’ को सफलतापछि उनले दीपकलाई भनेका थिए, ‘भाइ गायकको रुपमा त मेरो एउटा परिचय थियो, तर अभिनयले मलाई घरघरमा पुर्‍यायो।’

दीपकले अगाडि लेखेका छन्, ‘उहाँले हास्ने एउटा गज्जबको शैली थियो, जसलाई हामीले चलचित्रमा पनि प्रयोग गर्‍यौं। उहाँको हाँसो सुनेपछि छुट्टै माहोल बन्थ्यो। त्यो अजिबको हाँसो अनि तपाईंका रसिक कुराहरु, सकारात्मक सोच र त्यो बिन्दासपना, यी सबै अब सम्झनामा मात्रै रहे, यस्ता थुप्रै सम्झनाका संगालो छाडेर परलोक प्रस्थान गर्नुभएको छ। छक्का पञ्जा ४ मा काम गर्ने सपना अधुरै रह्यो।’

अभिनयको लागि अफर गर्दा विद्यालयमा ‘संगीत पढाउन छोड्न सक्दिनँ, शुक्रबार र शनिबारमात्र आउँछु भन्ने लामाले छक्का पञ्जापछि विद्यालयमा पढाउन छोडे र सबै समय अभिनय गर्ने बताएको दीपकले बताए। उनी पछिल्लो समय धेरै चलचित्रमा सानो भूमिकामा भए पनि देखिने गरेका थिए। छक्का पञ्जापछि मात्रै उनले १६ वटा चलचित्रमा अभिनय गरेको लेन्स नेपालले जनाएको छ। उनले काम गरेको चलचित्र ‘लक्का जवान’ प्रदर्शन हुन बाँकी नै रहेको छ।

सधैँ हाँसखेल गर्ने, ठट्टा गर्ने जयनन्द सबैलाई चकित पारेर गए। नेपाली चलचित्र क्षेत्र उनको मृत्युको शोक मनाइरहेको छ।

यो पनि पढ्नुहोस्

बेलुका बैठकका लागि गएका लामा बिहान आफ्नै घर अगाडि गाडीमा मृत भेटिए

बेलुका बैठकका लागि गएका लामा बिहान आफ्नै घर अगाडि गाडीमा मृत भेटिए

चर्चित  कलाकार एवं गायक जयनन्द लामाको निधन

चर्चित कलाकार एवं गायक जयनन्द लामाको निधन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?