
काठमाडौँ– कतार उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट सोमबार राति करिब ९ः३० बजेतिर टिकट र पासपोर्टबिनै जहाजभित्र पुगेका एक व्यक्ति पक्राउ परे।
पक्राउ पर्नेमा रौतहटका १८ वर्षीय हस्पम आलम रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। पक्राउ परेका आलम जहाजभित्र छिर्ने क्रममा कागजात माग्दा नभएको भन्ने थाहा भएपछि विमानस्थलले प्रहरीको सहायतामा नियन्त्रणमा लिएको सिटौलाले बताए।
उनका अनुसार बोर्डिङ भइरहेका बखत आलम जाहाजसम्म सुटुक्क पुगेका थिए।
‘विमानस्थलको दक्षिणतिरबाट अवैध तरिकाले प्रवेश गरी उनी जहाजसम्म पुगेको भन्ने देखिएको छ,’ उनी भन्छन्, ‘उनी यसो हेर्दा मानसिक सन्तुलन ठीक नभएको जस्तो देखिन्छन्, उनी गैरयात्रु हुन्, उनीसँग पासपोर्ट टिकट केही नभए पनि कहिले हज गर्न हिँडेको, कहिले दुबई जान हिँडेको भन्दै असन्तुलित कुरा गरेका थिए।’
जहाजसम्म पुगेका उनको मानसिक अवस्था ठीक भए–नभएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।
यद्यपि पक्राउ परेका व्यक्तिका कारण १०ः४५ बजेको जहाज भने डिले नभएको प्रवक्ता सिटौलाले जानकारी दिए। सिटौलाका अनुसार यात्रुहरु जहाजमा चड्दै गर्दा नै आलमसँग टिकट, पासपोर्ट र केही पनि कागजात नभएको थाहा पाएपछि नियन्त्रणमा लिइएको थियो।
आलम करिब एक महिनाअघि पनि यसैगरी विमानस्थलसम्म पुगेर प्रहरीले नियन्त्रणमा लिएको थियो। गौशाला प्रहरीका एक अधिकारीका अनुसार आलम यसभन्दा अगाडि पनि गौशाला वृत्तमा पुगेका थिए।
उनका अनुसार कोही व्यक्तिले अलपत्र परेको अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त भई यसभन्दा अगाडि नै एकदुई पटक आलम त्यहाँ आइसकेका थिए।
‘यसो हेर्दा मानसिक सन्तुलन ठीक नभएको जस्तो देखिन्छ, बोलीको पनि केही ठेगान नभएको जस्तो छ,’ उनी भन्छन्, ‘साथी यहीँबाट विदेश गएको छ, म पनि जान्छु भन्दै जबरजस्ती आलम जाहाजमा प्रवेश गर्न खोजेको देखिन्छ।’
आलमको मानसिक अवस्था ठीक नभएको हो वा अन्य कुनै हेतुले विमानस्थलसम्म पुगेका हुन् भन्नेबारे अनुसन्धानबाट थाहा हुने प्रहरीले जनाएको छ।