लता मंगेशकरको नेपाली गीतकी ‘मोडल’ अर्थात् ‘जलपरी’ भन्छिन् – फेरि माेडलिङ गर्न मन छ, तर…..

लता मंगेशकरको नेपाली गीतकी ‘मोडल’ अर्थात् ‘जलपरी’ भन्छिन् – फेरि माेडलिङ गर्न मन छ, तर…..
+
-

विद्यालयको पढाइ सकेर कलेज जान सुरु गर्दै थिइन् नेहा कार्की। भविष्यमा के बन्ने भनेर योजना बुनी नसक्दै परिवारमा कुरा भयो, ‘होम प्रडक्सनमा चलचित्र बनाउने’। त्यसपछि उनलाई भनियो, तिमी हिरोइन बन्ने हो भने अभिनय र नाँच्न सिक्दै गर।

किशोरावस्था सकिनै लागेको उमेर थियो नेहाको। त्योबेला निर्णय गर्न आफू परिपक्व भइनसकेको उनलाई अहिले पनि लाग्छ। ‘परिवारले जे भने, मैले त्यही मानेँ ज्ञानी छोरी झैं’, उनले भनिन्, ‘मलाई पुतली सडकमा अभिनय र नाच सिक्न पठाइयो। मलाई नयाँ कुरा सिकिराख्न मन लाग्ने भएकोले नाइनास्ती नगरी गएँ।’

त्यही समयमै स्टुडियोमा उनको ‘फोटो सुट’ भयो। परिवार उनलाई हिरोइन बनाउन हरेक तरिकाबाट तयारी गर्दै थियो। तर नेहालाई अभिनय कला अन्तैबाट देखाउन लेखेको रहेछ। जहाँबाट उनलाई अभिनयको अफर आयो, त्यहाँ ‘नाई’ भन्ने ठाउँ नै थिएन। आफ्नो नियतिलाई उनले यसरी सम्झिइन्, ‘मेरो फोटो मह सञ्चारमा पुगेछ। आदरणीय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जनचेतनामूलक सामग्री ‘जलपरी’ बनाउनलाई नयाँ अनुहार खोज्नुभएको रहेछ, मेरो फोटो हेरेपछि ‘काम गर्छौ’ भनेर फोन आयो।’

अनुभव भनिरहँदा उनको अनुहार उज्यालियो, नेहाले पहिले रेजिना उप्रेती, दीपाश्री निरौलालाई टेलिभिजनमा देख्थिन्। उनले भनिन्, ‘मैले सोच्नुपर्ने कारण नै थिएन, उहाँहरुको कामबाट त्यो बेला पनि कोही बेखबर थिएन।’

त्यसपछि नेहा भइन् ‘जलपरी’

काठमाडौँ उपत्यकामा खानेपानीको चरम अभावपछि आकाशे पानी कसरी संकलन गरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा केन्द्रित थियो ‘जलपरी’। उनको रहर र करियर ठीक बाटोमा हिँडिरहेको थियो। यो अभिनयपछि उनलाई चलचित्रमा काम गर्ने अफर पनि आए। ‘तर म होम प्रडक्सनबाट पहिला जाने विचारमा थिएँ, मेरो काम दर्शकले कसरी लिनुहुन्छ, त्यो नै पहिला हेर्ने मन थियो’, उनले भनिन्। जलपरी त्यो बेला चर्चित थियो। जलपरीमा काम गरेकै कारण उनी चर्चित नेपाली टेलिश्रृंखला तथा भिडियो निर्देशक, कलाकार लय संग्रौलाको आँखामा परिन्। उनी त्यतिबेला नेपाल टेलिभिजनसँग आवद्ध थिए।

वि सं २०५१ सालपछि नेपालमा पुराना गीतहरुलाई जगेर्ना गर्ने भन्दै म्युजिक नेपालले पुराना रेकर्ड भएका गीतको भिडियो बनाउन थालेको थियो। यो अभियानमा भारतकी दिग्गज गायिका स्व लता मंगेशकरको स्वर अनि स्वर्गीय राजा महेन्द्र वीर विक्रम शाह (मविविशाह) को शब्दमा २०२३ सालमा रेकर्ड भएको गीत ‘आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ’ पनि थियो। यो गीतको भिडियोको लागि नेहा छानिइन्।
उनलाई फेरि फोन आयो, ‘काम गर्छौ ?’

नेहाको म्युजिक भिडियोको लागि यो पहिलो सुटिङ थियो। उनले आएको अफरलाई खेर जान दिइनन्। त्यसमाथि लय संग्रौलामार्फत आएको प्रस्ताव उनलाई उचित लाग्यो। काम गरिन्।

छायाँकनको समय

यो गीतको ‘लिप्सिङ’ बाहेकका सबै भिडियो छायाँकन चोभारमा गरिएको थियो। नेहालाई स्मरण छ, उनलाई ठूलो मान्छेले लगाउने पहिरन लगाइएको थियो। ‘म बल्ल १९ कि थिएँ। तर, मलाई उमेर पाको भएको महिला बन्नु थियो। भिडियोमा फ्ल्यास व्याकको सीन पनि थियो। जवान र पाको उमेर भएकी दुवै महिलाको भूमिकामा रहेँ’, उनले हौसिँदै भनिन्, ‘म त्यो गीतमा यति भिजेकी थिएँ कि मलाई अहिले पनि याद आउँछ। छायाँकनमा असाध्यै रमाइलो भएको थियो।’

त्यो छाप यति गाढा भएर उनको मनमा बस्यो कि जहिल्यै दक्षिणकाली मन्दिर जाँदा बाटोमा पर्ने चोभार देख्नेबित्तिकै उनी ‘नोन्सटाल्जिक’ हुन्छिन्।

गीतको महत्व अहिले भयो

त्यो बेला नेहाले कामको प्रस्ताव आयो, काम गरिन्। तर यो गीतपछि यसरी ऐतिहासिक दस्तावेज बन्छ भन्ने उनलाई लागेको थिएन। गएको फेब्रुअरी ६ मा महान गायिका लता मंगेशकरको निधन भयो। त्यसपछि विश्वका संगीतप्रेमीले उनको शोकमा श्रद्धाञ्जली व्यक्त गरे।

त्यो दिन सरस्वती पूजा भएकाले नेहा घरमा पूजाआजा गरी बालबच्चालाई मन्दिर लाने तयारी गर्दै थिइन्। ‘मलाई सारै नरमाइलो लाग्यो। काम सकाएर मैले सञ्चारमाध्यममा देखे जति सबै समाचार पढेँ र हेरेँ’, उनले भनिन्, ‘अनि स्मरणमा आए काम गर्दाको क्षण। मलाई उहाँले कतिवटा नेपाली गीत गाउनुभएको रहेछ, मैले काम गरेको कतिऔँ गीत रहेछ भन्ने खोज्न मन लाग्यो।’

नेहाले जे थाहा पाइन्, त्यसले उनलाई भित्रैदेखि गर्व महसुस गरायो। ९२ वर्षको उमेरमा निधन भएकी मंगेशकरले गायनको सक्रिय ८० वर्षमा ३६ भाषामा ३० हजार गीतमा स्वर भरेकी रहेछिन्। जसमा ३ वटामात्रै नेपाली गीत थिए।

पहिलो गीत ‘आकाशका तिरमिरे तारा’, दोस्रो चलचित्र माइतीघरको ‘जुन माटोमा मेरो’ र तेस्रो रामकृष्ण ढकालसँगको युगल गीत ‘बाचुञ्जेलीलाई’ हो।

मंगेशकर जानुको दुःख त छँदैछ। तर, उनले गाएको गीतको हिस्सा बन्न पाएकोमा उनले आफूलाई भाग्यमानी ठानिन् र गीतको भिडियो रेकर्डिङको पुनः स्मरण पुगिन्।

‘भर्खरकी १९ वर्षकी केटीलाई ठूलो मान्छेको भूमिका गर्नुपरेको थियो। मेकअप पनि त्यस्तै। ठूलो चश्मा लगाउन दिइएको थियो,’ उनले भनिन्, ‘मलाई सम्झँदा मज्जा लाग्छ।’

मनमा दुख लागे पनि लगत्तै उनले आफ्नो फेसबुकमा गीत साझा गरिन्। त्यसपछि उनले सञ्चारमाध्यममा जान मन नभए पनि महान कलाकारको बारेमा केही बोल्नु उनको सम्मान हुने सोचेर भावना पोखिन्।

बिशालबजारको छतमा भएको एउटा रेस्टुरेन्टमा भेटिँदा उनी उत्साहित भई आफ्नो अनुभव सुनाइरहेकी थिइन्। उनले सुनाएका अनुभव धेरै वर्ष अगाडिका थिए तर उनी त्यति पुरानो कुरा गर्ने उमेरकी देखिन्थिनन्। भिडियोमा देखिएझैं थियो उनको सुन्दरता।

यति बीचमा उनको जीवनमा धेरै चिज भयो। उनले हट लेमन विथ हनी सुर्काउँदै मोडलिङबाट अर्को करियरमा आफ्नो पाइला कसरी लम्कियो भनेर सुनाउन थालिन्।

परिवारकाे चलचित्र बनाउने याेजना स्थगित

‘जलपरी’, ‘आकाशका तारा’पछि उनले अर्को एउटा गीतमा पनि मोडलिङ गरिन्। काम गर्ने अफर आइरहेकै थियो तर परिवारको चलचित्र बनाउने काम स्थगित भयो।

‘बाबा ममी विदेश जानुभयो। मलाई पढाइलाई निरन्तरता दिनु थियो। मैले मास्टर्स सक्काएँ। त्यही बेला गोरखापत्र संस्थानमा अधिकृतको लागि दरखास्त खुल्यो। मैले नाम निकालेँ’, गोरखापत्र संस्थानमा आठौँस्तरकी अधिकृत उनी भन्छिन, ‘त्यसपछि सामान्य महिलाको जीवनमा होमिएँ। पढाइ भयो, जागिर पनि भयो, अब विवाह गर्ने भन्नेतिर पुगियो। २३ वर्षको हुँदा मेरो विवाह भयो।’

अहिले उनले जागिर खाएकै १३ वर्ष भयो। उनका १२ वर्षका छोरा छन्, छोरी ७ वर्षकी भइन्। मोडलिङलाई उनले रहरको रुपमा लिएकी थिइन्, प्राथमिकता पढाइ थियो। जीवन आफ्नै तालमा चलिरहेको थियो। अहिले उनले गरेको कामप्रति फेरि चासो उब्जियो। जलपरी, अनि अभिनय गरेको गीतको भिडियो श्रीमान र बच्चाहरुलाई देखाउँदा बच्चाले दिएको प्रतिक्रियाले मनमा असीमित खुसी ल्याएको उनी बताउँछिन्।

‘स्कूलमा बच्चाहरुले मेरो मामु त जलपरी हो भन्छन् रे’, बच्चाको कृतज्ञता उनको मुहारमा पनि झल्कन्छ, ‘त्यो कुराले अहिले मलाई सारै खुसी बनाउँछ, सकारात्मक सोच आउँछ। मैले त्यो समयमा जे गरेछु ठीक गरेछु जस्तो लाग्छ। कुनै पश्चाताप छैन। अनुहारमा एकदमै ग्लो आउँछ।’

फेरि माेडलिङ गर्ने मन छ, तर…….

बेला–बेलामा उनलाई यो पेशामा किन छैन भनेर प्रश्न पनि सोध्ने गरिन्छ। तर, उनी आफ्नो सोचमा स्पष्ट थिइन्। ‘अनुभव भइहाल्यो अब पढाइलाई निरन्तरता दिनुपर्छ भन्ने ठानेँ’, उनले स्पष्ट पारिन्, ‘स्नातकोत्तरपछि जीवनको धार अर्कै भयो। खुसी हुनलाई त थुप्रै यादहरु छन् नि!’

अब बच्चा हुर्किए उनका। आफ्नो कामबाट बच्चाहरु उत्साहित भएको देख्दा फेरि यो क्षेत्रमा काम गरौँ कि नहुने हैन नेहालाई। ‘चाहना कहिल्यै मरेको छैन। महिलाको जीवनमा परिवर्तन हुँदै जान्छ। म अधिकृत हुँ, परिवार र अफिसमा समय दिन पर्‍यो। अहिले छोराछोरी हुर्किए, फेरि मन लागेको छ’, उनले भनिन्, ‘जलपरीमा आफ्नै आवाज सुन्दा लाज लाग्छ, अहिले केही परिपक्वता आएको छ जस्तो लाग्छ।’

अहिले समय धेरै परिवर्तन भइसकेको छ। उनी पनि परिवारमा र जागिरमा निकै जिम्मेवार स्थानमा छिन्। शरीर मेन्टेन गर्न खाना र व्यायाममा सधैँ जोड दिने नेहा पछाडि हेरेर नपछुताउने र अगाडि जे आइपर्छ गर्ने साहस सुनाउँदै बिदा भइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?