
सिमकोट – दुर्गमको एक विद्यालयलाई ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको छ। काठमाडौंको सास इस्टिच्युट प्राइभेट लिमिटेडले ती ल्यापटप विद्यालयलाई उपलब्ध गराएको हो।
ल्यापटप उपलब्ध गराउन सहजीकरण गरेका सोही विद्यालयका शिक्षक छतुप लामाले न्यून आयश्रोत भएको दुर्गमको बालमन्दिर माविलाई तीन थान ब्रान्डेड ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको जानकारी दिए।
उनले आइतबार एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको जनाए। विद्यालयको आवश्यकतालाई ध्यान दिएर सासबाट ती ल्यापटप उपलब्ध भएका हुन्। नयाँ ल्यापटप पाएपछि प्रधानाध्यापक कैलाश रोकायाले शिक्षकलाई पठनपाठनमा सहयोगी हुने जनाए।
आफ्नै स्रोतले विद्यालयले ल्यापटप खरिद गर्न नसकिरहेका बेला विद्यालयलाई ल्यापटप उपलब्ध हुँदा शिक्षकलाई प्रविधिबाट अध्यापन गर्न सहज हुनेछ।
उनले सहयोगी हातबाटै यसअघि पनि विद्यालयलाई ल्यापटप र कम्प्युटर उपलब्ध भएको र त्यतिले मात्र नपुगेको बेला थप ल्यापटप उपलब्ध हुँदा विद्यालयलाई राहत मिलेको बताए। प्रत्येक शिक्षकलाई हात–हातमा ल्यापटप उपलब्ध गराउने विद्यालयको लक्ष्यलाई यस्ता सहयोगले मद्दत पुगेको छ।