काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोग परियोजना एमसिसीलाई जुनसुकै हिसाबले असफल पार्ने चेतावनी दिएका छन्।
‘एमसिसी भयंकर ठूलो दुर्दशा हो, यसलाई अहिल्यै रोक्नुको विकल्प छैन,’ एमसिसीबिरुद्ध बन्द आह्वान गरेकै दिन सञ्चारकर्मीहरुसँग विप्लवले भने।
‘यो संसदीय व्यवस्था र यो संविधान नेपाली जनताले चाहेको होइन,’ उनले भने, ‘नेपाली जनताले चाहेको समाजवाद हो।’
एमसिसी पास हुनुलाई सफल भन्न नमिल्ने उल्लेख गर्दै यो देशका लागि घात भएको उनले बताए।
आधिकारिक संस्था र राज्यले नै एमसिसी अमेरिकी सुरक्षा छाताको अंग रहेको स्वीकार गरिसकेको अवस्थामा एमसिसीको नेपाली नेताहरुले पक्षपोषण गर्नु दलालीको हद भएको उनले बताए।
एमसिसीको सुरक्षा, कानुन, खर्चलगायतका विषयका प्रावधान मान्य नभएको उनले बताए।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसिसीका पक्षमा ‘लथ्र्याकलुथ्रुक’ परेको टिप्पणी गरे।
‘प्रचण्ड र माधवजीको धोकाधडीका कारण यो पास भयो,’ विप्लवले भने, ‘उहाँहरु त एकछिन पनि टिक्नुभएन नि, उहाँहरु भन्दा राष्ट्रवादी तर व्यवहारमा राष्ट्रघाती देखिनुभयो।’
प्रचण्डमा आत्मसमर्पणवादी सम्झौताको प्रवृत्ति देखिनु देशकै लागि चिन्ताको विषय रहेको उनले बताए।
नेकपा महासचिव विप्लवसँग गरिएको कुराकानीको विस्तृत भिडियो: