
काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम र अति दुर्गम ठाउँबाट काठमाडौँमा आई अध्ययन गरिरहेका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँड्ने भएको छ।
सरकारी तथा सामुदायिक शिक्षण संस्थामा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि यो कार्यक्रम ल्याएको संस्थाका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले जानकारी दिए।
उनका अनुसार दुर्गम र अति दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययन गरिरहेका करिब १० हजार विद्यार्थीलाई निःशुल्क इन्डक्सन बाँड्ने भएको हो। नेपालमा विद्युत् उत्पादनको मात्रा बढ्दै गएकाले विद्युत् खपत बढाउने सोचसाथ इन्डक्सन बाँड्न लागिएको उनले बताए।
‘नेपालमा विद्युत् खपत हुने भनेको मुख्यतया घरमा बालिने बत्ती नै हो, त्यसपछि पकाउने सन्दर्भमा पनि विद्युतकाे प्रयोगलाई अत्यधिक मात्रामा बढाउन सकिन्छ भन्ने उद्देश्यले इन्डक्सनको प्रयोगलाई जोड दिएका हौँ,’ उनले भने, ‘विद्युतीय उपकरणको प्रयोग बढाएर एलपिजी ग्यासको प्रयोग कम गर्ने लक्ष्य हामीले राखेका छौँ।’

डा. मधुसूदन अधिकारी
विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुलो प्रयोगका लागि बुझाउन सहज हुने भएकाले पनि पहिलो चरणमा विद्यार्थीलाई चुलो दिइने भएको हो।
‘ग्रामीण क्षेत्रबाट काठमाडौँ आएर अध्ययन गरिरहेका विद्यार्थीका लागि विद्युतीय चुलोले सहयोग पुग्ने सोचेर हामीले ग्रामीण क्षेत्रका विद्यार्थीलाई रोजेका हौँ’, उनले भने।
पहिलो चरणमा १० हजार विद्यार्थीलाई चुलो उपलब्ध गराउने र माग धेरै आएमा आवश्यकताअनुसार मन्त्रालयसँगको सहकार्यमा थप गरिने अधिकारीले बताए।
विद्युत् खपतकै लागि पालिकाहरूसँगको सहकार्यमा लक्षित समूहसँग सहकार्य, साना खालका लगानी गरेर लोन लिने व्यक्तिका लागि समेत विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ।