‘चिसो एस्ट्रे’ का डेब्यू निर्देशक दीनेश पाल्पालीसँग चलचित्र गर्भका कुरा

७ वर्षको तयारीपछि जन्मिएकाे ‘चिसो एस्ट्रे’

७ वर्षको तयारीपछि जन्मिएकाे ‘चिसो एस्ट्रे’
+
-

काठमाडाैँ – कवि भूपि शेरचनका धेरै कविता पाठकका प्रिय छन्। ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जत्तिकै चर्चित नभए पनि ‘चिसो एस्ट्रे’ कविता साहित्य प्रेमीको मनसँग जोडिएको कविता हो।

यहाँ जो आउँछन्,
मुटुभरी ओगो, ओठभरी ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्,
हत्केलाभरी खरानी र आँखाभरी धूवाँ बोकेर बस्छन्,
र यहाँबाट जो जान्छन्,
पोल्टाभरी निभेका विश्वासहरु र सपनाहरु सोहोरेर जान्छन्
यस्तो छ यो चारभञ्ज्याङको खाल्टो
एउटा चिसो एस्ट्रे जस्तो छ,

जतिबेला दिनेश पाल्पालीले यो कविता पढे, सोचे – यो कवितामा केही त लेख्छु।

कविताले काठमाडौँमा करियर खोजेर आउनेको नियती प्रस्ट्याइदिएको छ। उनी पनि यही जमातका एक पात्र थिए।

सानै उमेरदेखि अभिभावक अनि विद्यालयका शिक्षकले यो बालक, बालिकामा भविष्यमा ‘डाक्टर, इन्जिनियर, गायक आदि बन्ने लक्षण छ’ भनिदिन्छन्। बाल मनस्थितिले पनि कसैले उसमा देखिएको लक्षणकै आधारमा आफू त्यही पेशा अपनाएको कल्पना गरिदिन्छ। यी कल्पना बेला बेलामा परिवर्तन भईरहन्छन्, ‘भविष्यमा गएर आफू के बन्ने भन्ने अन्यौल’ जीवनका व्यवहारको मेसो नपाउँदादेखि नै सुरु हुन्छ।

कतिले आफूमा भएको संभाव्यताको पहिचान गरेरै पेशा अंगाल्छन्, कतिले समय र परिस्थितीसँगै आफूलाई बगाउँदै लैजान्छन्। जीवनको एउटा समयमा करियर कुन क्षेत्रमा बनाउने भनेर निर्णय गर्नु पर्ने अवस्था निर्देशक पाल्पालीलाई पनि आइलाग्यो। धेरै सोच विचार गरेर उनले आफूलाई निर्देशकको रुपमा अगाडि लैजाने निधो गरे।

‘निर्देशक बन्नलाई कथा चाँहियो । मलाई भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’ स्मरणमा थियो। पहिलादेखि नै यो कवितामा केही लेख्न मन थियो। मैले यसैलाई राजेँ।’ पाल्पालीले कथा लेखनको समय सम्झिए, ‘म साहित्यको विद्यार्थीको पनि हुँ, ‘प्लस टु’ मा नेपाली साहित्य अनि स्नातकमा अंग्रेजी साहित्य पढेको हुँ ।’

स्नातक पढ्दै गर्दा उनले प्लस टूको मेजर इंग्लिसका परीक्षा दिएर उनले अंग्रेजी साहित्यमा स्नातक गर्न पाएका हुन् ।

यही कवितालाई सार लिएर बनाएको चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ गते प्रदर्शन हुँदैछ।

स्क्रिप्टमा ४ वर्ष

पाल्पालीको पहिलो व्यवसायिक डेब्यू हो ‘चिसो एस्ट्रे’ । यसमा उनी लेखक अनि निर्देशकको रुपमा आएका छन्। यो भन्दा अगाडि उनले सन् २०१३ मा ‘बालकृष्ण सम’ छोटो कथा बनाएका थिए। उनले यही क्षेत्रमा आफ्नो भविष्य बनाउने सोचेपछि चिसो एस्ट्रेको काम सुरु गरेका थिए।

स्क्रिप्ट लेख्न ४ वर्ष लाग्यो। त्यो अवधिमा उनले कति पल्ट स्क्रिप्ट पढे, लेखे र च्याते त्यसको हिसाब उनीसँग छैन। यो क्षेत्रमा आउनुपूर्व एडिटिङ, पोस्टर डिजाइन्, लेख्ने लगायत चलचिका सबै क्षेत्रमा हात हालेका उनले बल्ल आफू निर्देशक र लेखक भई चलचित्र बनाउन पाए।

चलचित्रका निर्माता महेश बाबु तिमल्सिनाको एउटा प्रोजेक्टमा दिनेशले एडिटिङ गरेका थिए। महेशलाई मन परेपछि यी दुईको चिनजान भयो।

त्यसपछि साथी भए, दुवैलाई चलचित्र बनाउन रहर थियो। निर्मातासँग स्क्रिप्ट छ भनेर दिनेशले सल्लाह गरेपछि चलचित्र बन्ने मेसो मिल्यो।

पाल्पालीले चलचित्रको आइडिया पहिला पनि धेरै निर्माताहरुसँग साझा गरेका थिए तर कुरा मिलेन। उनले सम्झे, ‘कारणहरु राम्रा, नराम्रा, विश्वास नलाग्ने, फोहोरीदेखि धेरै थिए। कँही विश्वासको वातावरण आएन। क्रिएटिभ डिफ्रेन्सेस भयो। तर महेश सरसँग एकपल्टमा नै काम गर्ने पक्का भयो।’

७ वर्षको मेहनत

माथि नै उल्लेख भयो स्क्रिप्ट लेख्न ४ वर्ष लाग्यो। चलचित्र जब फ्लोरमा गयो तर पाल्पालीले खाएको हन्नर केही समयपछि दैनिकी जस्तो सामान्य बन्यो उनलाई।

‘भोको रहनु के गारो हो र ! साथीबिच ‘मिस कम्युनिकेशन हुनु, झगडा हुनु, कहिलेकाँही सम्मानित, कहिले हारेको, बेइज्जत भएको महशुस गर्नु के हो र ?’ पाल्पालीले भने, ‘एउटा मान्छेलाई जति प्रकारको भावनाले संघर्षको समयमा छुन्छ त्यो मैले भोगे जस्तो लाग्छ। यो यात्रा एकदमै गारो थियो। तर अहिले सम्झदा रमाइलो लाग्छ।’

उनलाई रमाईलो लाग्नुमा चलचित्रको टिजर, ट्रेलर सार्वजनिक भएपछि आएका प्रतिक्रियाहरु हुन्। अहिले नै उनले केही सफलता पाएको अनुभूत गर्छन्। उनलाई अब करियरको लागि दोधारे बन्नु पर्ने अवस्था नआउने आत्मविश्वास पलाएको छ।

यसको धुनमा उनको व्यक्तिगत जीवन नै रहेन। आशावादी उनी भन्छन्, ‘डामाडोल नै रह्यो। अब चलचित्र प्रदर्शन भएपछि बल्ल एक किसिमको स्थिरता आउँछ।’

उनी व्यक्तिगत रुपमा चलचित्रको कथासँग आफ्नो जीवन मिलेको मान्दैनन् तर मदन भन्ने नाम नै यस्तो छ, जसले करियर खोज्दै काठमाडौँ आउने युवाको प्रतिनिधित्व गर्छ।

पाल्पाली कञ्चनपुरबाट २०६२ मा काठमाडौँ छिरेका हुन्। उनी धेरै किशोर किशोरी, युवा जस्तै करियर खोज्न काठमाडौँ आएका थिए। मनमा झिनो रहर थियो, चलचित्रकर्मी नै बन्ने। त्यसपछि उनको यो खाल्डोमा संघर्ष सुरु भयो। १३ वर्ष यो क्षेत्रमा लगानी गरेपछि ३६ वर्षको उमेरमा बल्ल उनले काठमाडौँ छिर्दा देखेको सपना पूरा हुने संघारमा आइपुगेको छ। त्यसको लागि गर्नुपर्ने सबै त्याग र तपस्या गरेको उनी मान्छन्।

उनी कथा बुझाउन थाले, ‘मैले सुनेको, देखेको, पढेको सुनेको सबै कुराको मिश्रण मदन हो। मलाई यो प्रोजेक्टमा धेरै समय बिताउँदा बिताउँदा मेरो जीवन नै यस्तै हुँदो रहेछ। अब म कुनै कथा लेख्छु भने, त्यसलाई भोग्छु पनि किनकी सोचेर मात्रै कथा नहुँदो रहेछ।’

जस्तो कथा उस्तै किसिमको ‘मेन्टालिटी’ पनि आवश्यक हुने रहेछ भन्ने उनले बुझे । किनकी चिसो एस्ट्रे बनाउँदा बनाउँदै उनले एक समय आफ्नो जीवन पनि चिसो, रंग भेद छुट्याउन गारो हुने समय, ‘ग्रे जोन’ मा पुगेको अनुभूत गरेका थिए। उनको आफ्नै जीवनमा कथामा भएजस्तै घटनाहरु पनि घटिरहेका थिए।

७ वर्षको बिचमा जीवन चलाउन गर्नुपर्ने कामहरु, डकुमेन्ट्रीमा सहयोग, म्यूजिक भिडियो बनाउने काम पाल्पालीले गरे। तर लामो समय लागेपनि चिसो एष्ट्रेको काम उनले छोडेनन्। ‘म यहि क्षेत्रमा करियर बनाउन आएको मान्छे, मेरो लागि अरु कुरा भन्दा पनि सिक्नु, सीप आर्जन गर्नु, सिनेमा ल्याङ्वेज सिक्नु, र यो कुराहरु कसरी फङ्सन हुन्छ भनेर सिक्नुमा ध्यान थियो। यसले भोलीको प्रोजेक्ट अझ छिटो, राम्ररी गर्न सकिने खालको हुन्छ।’ उनले भने, ‘हो ७ वर्ष त लाग्यो तर यति समयमा चलचित्र बन्छ, प्रदर्शन हुन्छ भन्नु मेरो दोस्रो प्राथमिकता थियो, पहिलो त सिक्ने चाहना नै हो।’

उनले आफ्नो भावना सुनाए, ‘संसारमा करौडौँ चलचित्र बनिरहेको बेलामा एउटा चलचित्र बनाएर हल्ला गरेर केही काम छैन भन्ने मलाई राम्ररी थाहा थियो। केही नयाँ छ, केही फरक छ अथवा दिन सकिन्छ भनेमात्र आउने भन्नेमा म प्रस्ट थिएँ। त्यसैले मैले आफ्नो व्यक्तिगत जीवनलाई दाउमा राखे।

चलचित्र प्रदर्शन पछि के हुन्छ?

चलचित्र प्रदर्शनपछि कलाकार, निर्माता निर्देशक सबैले चाहने ‘चलचित्र हिट’ होस् भन्ने नै हो। दिनेशको पनि फरक मत छैन, तर उनले व्यक्तिगत रुपमा भने आफू ‘फ्रि’ हुने अपेक्षा गरेका छन्। ‘७ वर्षसम्म बाँधिएको थिए। सायद खुल्ला हुन्छु।’

नेपालमा धेरै निर्देशक पहिलो चलचित्रपछि गुमनाम छन्, दिनेशको भने थुप्रै योजनाहरु रहेका छन्, ‘म आफूले आफूमा धेरै विश्वास गर्छु। मलाई थाहा छ म चाहन्छु। यो प्रदर्शन पछि म अर्को प्रोजेक्टमा हाम फालिहाल्छु।’

भूपिको चिसो एस्ट्रे नै किन?

पाल्पालीले स्क्रिप्ट लेख्नु अगाडि कथाका साथ लिन उनीसँग थुप्रै ‘रिफ्रेन्स’ थिए। तर उनले भूपिको कथा लेखे। उनी चाहन्थे युवाले ‘यो मेरो चलचित्र हो’ भनुन्। जुन चलचित्रले उनीहरुलाई प्रस्तुत गरोस्, उनीहरुको उमेर, सोच्ने तरिकालाई प्रस्तुत गरोस्।

‘म हलिउड बलिउड चलचित्र हेर्थे, खुब मन परे पनि त्यो पात्रले मलाई ‘रिप्रेजेन्ट’ गरिरहेको हुँदैनथ्यो। जस्तो पुस्पा सुपरहीट भयो, तर त्यो पात्र मेरो समाजको होइननी त !’ उनले भने, ‘मलाई त्यही कुराले पिरोल्थ्यो। म फेरि धेरै आर्टिस्टिक पनि होइन। साधारण तर नेपाली युवालाई आफ्नो लागोस्।’

चलचित्रको कथामा जोखिम मोलेको विषयमा पाल्पालीले जवाफ दिए, ‘३६ वर्षमा नि बुद्धि आएन भने कहिले आउँने?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?