देशभर अप्रत्याशित बढ्यो तापक्रम, तातो हावा चल्ने जोखिम उच्च

देशभर अप्रत्याशित बढ्यो तापक्रम, तातो हावा चल्ने जोखिम उच्च
+
-

काठमाडौँ – देशभरकै तापक्रम अहिले सरदरभन्दा बढी रहेको र तातो हावा चल्ने जोखिम बढेको चेतावनी विज्ञले दिएका छन्।

पछिल्लो केही दिनयता देशभर नै लगातार तापक्रम बढ्दो क्रममा देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाकी सिनियर डिभिजनल मेटेरोलोजिष्ट डा इन्दिरा कडेलका अनुसार पूर्वी नेपालका धरान, ओखलढुंगासहितका स्थानको अधिकतम तापक्रम पछिल्ला केही दिनमा सरदरभन्दा पाँच डिग्री सेसिल्सयसमाथि देखिएको छ।

डा कडेलले भनिन्, ‘देशका अधिकांश स्थानमा यो वर्ष मार्च लागेदेखिकै अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा माथि रेकर्ड भएको छ। देशका अधिकांश क्षेत्रको तापक्रम सरदरभन्दा दुई डिग्री सेल्सियस माथि देखिएकाले गर्मी बढी भएको हो।’

काठमाडौँको अधिकतम तापक्रम हाल सरदरभन्दा करिब ५ डिग्री तथा पोखरासहितका क्षेत्रको ४ डिग्रीभन्दा माथि देखिएको उनले बताइन्। प्रि–मनसुनको अवधि भए पनि वर्षा नभएको र मौसमी प्रणाली पनि लगातार तापक्रम बढ्ने खालको भएकाले पछिल्लो केही दिनमा विगतको तुलनामा तापक्रम बढी मापन भएको डा कडेलले जानकारी दिइन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद पोखरेलका अनुसार अहिले सामान्यभन्दा बढी तापक्रम मापन भइरहेको र यो मौसमी प्रणालीकै कारण भए पनि सामान्यभन्दा भिन्न देखिएको छ। ‘यो समय हावाहुरी लाग्नुपर्ने हो, त्यो भएको छैन। पानी पनि परेको छैन’, डा पोखरेलले भने, ‘यसले तातो हावाको जोखिम बढेको छ।’

लगातार मौसमी गतिविधिको अनुगमन तथा अध्ययन गरिरहेका डा पोखरेलका अनुसार अहिले उच्च चापीय प्रणालीको प्रभाव बढी देखिएको छ। ‘वायुमण्डलको माथिल्लो तहमा भएको चापले फरक पारेको छ। पाकिस्तान, अफगानिस्तान हुँदै उत्तर–पश्चिम भारतको क्षेत्रमा उच्च चापीय प्रणालीका कारण ‘अपर लेभल रिज’ (डाँडाको टुप्पो जस्तो) प्रणाली बसेको उनले बताए। त्यसले गर्दा हावा तल आइरहेको र तातो भएको उनले जानकारी दिए।

काठमाडौँ चोभारको वन क्षेत्रमा लागेको डढेलो। फाइल तस्बिर।

‘त्यसविपरीत खोल्सो जस्तो प्रणाली बनेको भए हावाहुरी चल्ने थियो, पानी पनि पर्ने थियो, अहिले त्यसविपरीतको मौसमी प्रणाली देखिएको छ’, डा पोखरेलले भने।

भारतको मुम्बई, अहमदावाद तथा दिल्लीसहितका क्षेत्रको तापक्रम पनि लगातार बढिरहेको र नेपालका अधिकांश क्षेत्रमा तापक्रम सरदरभन्दा बढी देखिएकाले हिट वेभ (तातो हावा) को जोखिम देखिएको उनले बताए। ‘तापक्रम बढिरहेको छ, पानी परेको छैन। यसले गर्दा डढेलो तथा आगलागीको जोखिम उच्च हुन्छ’, उनले भने, ‘हामी सबै सतर्क हुनुपर्ने देखिन्छ। यस्तै हावा नचलेकाले वायु प्रदूषणको तह उच्च हुन सक्छ।’

डा पोखरेलका अनुसार अहिलेको मौसमी गतिविधिलाई जलवायु परिवर्तनसँग सीधै जोड्न मिल्ने अवस्था भने छैन। ‘यो मौसमी प्रणाली नै हो तर विगतको भन्दा केही भिन्न देखिएको छ। यसमा जलवायु परिवर्तनको प्रभाव हो–होइन भन्न सक्ने अवस्था छैन। तर मौसमी प्रणालीलाई परिवर्तन गर्नलाई जलवायु परिवर्तनले सहयोग गरेको हुन सक्छ’, उनले भने।

न्यून चापीय प्रणालीको प्रभाव बढेर हावा चल्ने तथा पानी पर्ने गतिविधि भएमा गर्मी केही कम हुने उनले बताए। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा हाल न्यून चापीय प्रणालीको विकास भएको छ। केही दिनमा त्यसको प्रभाव नेपालसम्म आउने सम्भावना छ।

+   +   +   +

पछिल्लो तीन दिन (मार्च १३, १४ र १५) र गत वर्ष सोही दिनको अधिकतम तापक्रम हेर्दा पनि यो वर्षको तापक्रम सरदरभन्दा बढी देखिएको छ।

गत वर्ष मार्च १३ मा दिपायलमा २९.६, धनगढीमा ३१.५, वीरेन्द्रनगरमा २८.७, नेपालगञ्जमा ३०.९, पोखरामा २४.५, भैरहवामा २६.२, सिमरामा २९.९, काठमाडौँमा २२.४, विराटनगरमा २७.५ तथा धरानमा २७.४ डिग्री सेल्सियस अधिकतम तापक्रम थियो।

यो वर्ष मार्च १३ मा दिपायलमा ३१.१, धनगढीमा ३१.९, वीरेन्द्रनगरमा ३०.८, नेपालगञ्जमा ३१.५, पोखरामा ३०.१, भैरहवामा ३२.२, सिमरामा ३२.६, काठमाडौँमा २९.४, विराटनगरमा ३३.६, धरानमा ३४.७ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यस्तै गत वर्ष मार्च १४ मा धनगढीमा ३२, दिपालयमा ३१, नेपालगञ्जमा ३२.४, वीरेन्द्रनगरमा २९.८, भैरहवामा ३१.५, काठमाडौँमा २५.७, विराटनगरमा २९.४, धरानमा २९.३ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो।

यो वर्ष मार्च १४ मा दिपायलमा ३१.८, धनगढीमा ३२.३, वीरेन्द्रनगरमा ३०.९, नेपालगञ्जमा ३२.२, पोखरामा ३१.४, भैरहवामा ३२.९, सिमरामा ३३.२, काठमाडौँमा ३०.३, विराटनगर ३३.८, धरानमा ३५.३ डिग्री सेल्सियस मापन भएको छ।

यसैगरी गत मार्च १५ मा दिपायलमा ३२.२, धनगढीमा ३२, वीरेन्द्रनगरमा ३१.२, नेपालगञ्जमा ३२.२, भैरहवामा ३३.२, सिमरामा ३२, काठमाडौँमा २६.७, विराटनगरमा ३१.७ र धरानमा ३० डिग्री सेल्सियस अधिकतम तापक्रम थियो।

यो वर्ष मार्च १५ मा दीपायलमा ३२.८, धनगढीमा ३३.४, वीरेन्द्रदगरमा ३१.८, नेपालगञ्जमा ३३, पोखरामा ३१.२, भैरहवामा ३३.४, सिमरामा ३३.२, काठमाडौँमा ३१.२, विराटनगरमा ३३.८, धरानमा ३५.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?