
केही साताअगाडि चलचित्र ‘चिसो एस्ट्रे’ को निर्माण टोलीले पत्रकार सम्मेलन गर्दा निर्देशक दिनेश पाल्पालीले चलचित्र बन्न ७ वर्ष लागेको र स्क्रिप्टमा मात्रै ४ वर्ष खर्चेको बताएका थिए।
उनका कुरा सुनेपछि पंक्तिकारलाई ‘दाजूले सारो गफ’ दिएको फिलिङ आयो। आन्तरिक तर्क गरेँ, ‘यस्ता हावा कुरा नि पत्याउँछु म!’ कुराकानीको क्रममा उनले ७ वर्ष लाग्नुको कारण पनि प्रस्ट्याएका थिए, ‘हो कि जस्तो लाग्ने, अनि होइन होला जस्तो पनि।’ नेपाली चलचित्र निर्माता, निर्देशक र कलाकारले चलचित्र प्रदर्शन अगाडि – भएकोभन्दा धेरै ‘गफ’ लगाउने चलन नयाँ हैन। यिनले पनि ‘मार्केटिङ ट्रिक’ लगाए भन्ने सोचेँ।
चलचित्र साँच्चै नै कस्तो बन्यो त चैत ४ पछि देखिइहाल्थ्यो। पाल्पालीले साँचो बोलेछन् कि कुरामा फूलबुट्टा भरे, त्यो चाँडै थाहा हुँदै थियो।
योपल्ट हलमा सवा २ घण्टा बिताएको समय तुलनात्मक रुपमा सहज भयो। पंक्तिकार पुरानो समयमा झैं ‘के कथा हो, यो पात्र किन यहाँ छ, कलाकारले यो के गरेका हुन्, किन यसरी खिचिएको होला’ भन्दै हैन, ‘साँच्चै चलचित्रको पात्र जस्तै जीवन हुँदो हो त के हुँदो हो!’ भन्ने सोच्दै हल बाहिर निस्किएँ।
दर्शकका रुपमा पंक्तिकार र नेपाली चलचित्रको सम्बन्ध चिसो छ। त्यसैले नेपाली चलचित्र प्रदर्शन भएको छ भन्दा हलमा गइहाल्न रुचि हुन्न। पछिल्लोपल्ट हेरेको नेपाली चलचित्र शिव श्रेष्ठको निर्माणमा बनेको ‘एउटा यस्तो प्रेम कहानी’ थियो। जुन चलचित्रको कथा के हो, कथाका पात्रको भूमिका के हो भन्ने ज्ञात नहुँदै स्क्रिनमा ‘टु बि कन्टिन्यूड’ आयो। त्यतिबेला चलचित्र हेरेपछिको अनुभव निलो लाइनमा क्लिक गर्दा पढ्न पाउनुहुन्छ। यीबाहेक उदाहरणका चाङ पंक्तिकारसँग टन्नै छ। धेरैजसो नेपाली चलचित्रका लागि खर्चिएका समयपछि आउने फिलिङ भनेको ‘हात्ती आयो हात्ती आयो फुस्सा।’
नढाँटी भन्दा धेरैजसो नेपाली चलचित्र हेरेपछि ‘व्यर्थै समय खेर गयो’ भन्ने इम्प्रेसन पर्छ। कतिपय त सजाय पाएझैं भान पनि हुन्छ। तर चलचित्र क्षेत्रको रिपोर्टिङ गर्नुपर्ने ‘काम’ भएरै फेरि एकपल्ट नेपाली चलचित्र हेर्ने मौका आइपर्यो।
योपल्ट भागमा आइलागेको थियो, चलचित्र ‘चिसो एस्ट्रे’।
चलचित्रको नाम कवि भूपि शेरचनले काठमाडौँ उपत्यकाको बारेमा लेखेको कविता ‘चिसो एस्ट्रे’ सँग प्रभावित थियो। हलको पर्दामा चलचित्र चल्नु केही अगाडिसम्म उतिसारो त हैन, झिनो आश थियो। कारण निर्देशकको कुराअनुसारको ‘कन्भिन्स’ गर्ने चलचित्रको ट्रेलर। तर सबै चलचित्र ट्रेलरजस्ता हुन्नन्।
कस्तो छ कथा?
यो चलचित्रको कथा नयाँ होइन।
भूमि शेरचनको कविता ‘चिसो एस्ट्रे’ को विस्तारित रुप
यहाँ जो आउँछन्,
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्,
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्,
र यहाँबाट जो जान्छन्,
पोल्टाभरि निभेका विश्वासहरु र सपनाहरु सोहोरेर जान्छन्
यस्तो छ यो चारभञ्ज्याङको खाल्टो
एउटा चिसो एस्ट्रे जस्तो छ,
हुर्कंदो उमेरका किशोरकिशोरी, युवा जो आफ्नो भविष्य खोज्दै काठमाडौँ उपत्यका आइपुग्छन्। विकासको असमान लहरले नेपालीलाई काठमाडौँ आउन लोभ्याएको छ। उपत्यका बाहिरका मानिसका लागि सपनाको सहर बनेको काठमाडौँ सुन्दरसँगै कठीन यात्रा हो।
यही सपनाको सहरमा पाइला टेकेको ‘मदन’ (चलचित्रका पात्र) ले काठमाडौँको रंगमा आफूलाई ढाल्ने क्रममा जे जे हुन्छ, त्यो नै कथा हो।
मदन साहित्यमा शोखिन छन्, कविता लेख्छन्। कल्पनाको सुखमय, रवाफिलो युवाको जीवन जिउन चाहन्छन्। उनलाई मनमौजी जीवन जिउनु छ, मेहनत गरेर जीवन सवल बनाउने दीर्घ सोचमा उनी छैनन्। गाउँले ठीटोको रुपमा उनलाई सहरले स्विकारेको छैन, सहरका गल्ली–गल्लीले उनलाई ‘पाखे’ भनेर गिज्याइरहेको छ। त्यसैले जतिसक्यो छिटो सहरको ठिटो बन्नु छ।
संयोगले ट्याक्सी ड्राइभर भएका मदनको रोनीसँग भेट हुन्छ। संगीतकर्म गर्ने रोनी बारमा गीत गाउँछन्। रोनीको ज्याकीसँग पहिलेदेखि नै चिनजान हुन्छ। यी दुई मदनका नयाँ साथीको आफ्नै कर्म र धार छ। तर आर्थिक अवस्था भने समान अनि मनमौजी हुने रहर उस्तै। केही समय यी सबैको रहर पूरा हुन्छ, राम्रा लुगा, चुरोट, रक्सी अनि लागूऔषधको स्वादमा लठ्ठ।
तर जीवन सधैँ एकै धारमा बगिरहँदैन भन्ने बिर्सेका यी तीन साथीको बीचमा सानो कुरामा मनमुटाव हुँदा एकले अर्काको लागि ज्यान दिन पछि नपर्ने यी तीन आफू आफैमा दुश्मन हुन पुग्छन्। यहीबीचमा कैयौँ उतारचढाव हुन्छन्, चलचित्रले ‘जीवन रुपान्तरण’ पक्षलाई राम्ररी प्रस्तुत गरेको छ। चलचित्र काव्यात्मक शैलीमा प्रस्तुत छ। केही जीवन दर्शन अनि आधुनिकताको अपव्याख्या कसरी भएको छ भन्ने प्रमाण पनि।
राम्रा पक्ष
चलचित्रको कथा राम्रो छ। साधारण मानिसको जीवनको कथा नेपाली चलचित्रको ठूलो पर्दामा खासै आउँदैन। ‘प्रसाद, बुलबुल’ पछि सर्ट फिल्म र म्युजिक भिडियोहरुमा यस्ता कथा देख्न पाइन्छ। नेपालमा ठूला व्यानरका चलचित्रको कथा धेरैवटा बलिउड चलचित्रका केही दृश्यका समायोजन लाग्छ। यो चलचित्रमा सहरको फोहोर अनि सुकिलोपनको कथा छ।
साथीसंगतअनुसारको आधुनिक हुने नाममा बेलगाम दौडिएका मदनलाई आफ्नो ‘कोर बिलिफ’ छोड्न गारो हुने मानवीय स्वभावलाई राम्ररी प्रस्तुत गरिएको छ।
संवाद सरल रुपमा प्रस्तुत गरिएको छ। जुन अपत्यारिलो लाग्दैन। कलाकारको अभिनय कुशलता राम्रो छ। शालिनताको पात्रका रुपमा उभिएकी श्रृटिबाहेकका अरु कलाकारले आफ्नो उपस्थितिलाई बलियो रुपमा प्रदर्शन गरेका छन्। सहयोगी पात्रका रुपमा देखिएका रोविन तामाङ जति समय देखिन्छन्, उत्कृष्ट देखिएका छन्। मदनको भूमिका निभाएका दिव्य देवको आवाज कथाभन्दा पनि संवाद बोल्दा पनि कान नबिझाउने सुनिन्छ।
यो चलचित्रको बलियो पक्ष संगीत हो। अजर जंगमले चलचित्रमा संगीत दिएका छन्। चलचित्रमा गीतका शब्द र संगीत संयोजन सुहाउँदो छन्। झ्याङझुड संगीत भए पनि कर्कश सुनिँदैन।
चलचित्रको अर्को बलियो पाटो प्राविधिक पक्ष हो। चलचित्रका धेरै दृश्य रातको अँध्यारोमा खिचिएको छ। निर्देशकको काम तारिफयोग्य छ। वर्षौँदेखि यही क्षेत्रमा चलचित्र बनाइरहेका निर्देशकसँग गुणात्मक तुलना गर्दा अपवादमा पर्ने निर्देशकहरुकै लाइनमा उभिन सफल भएका छन्। यही चलचित्रबाट डेब्यु गरेका पाल्पालीको चलचित्र स्क्रिप्ट लेखन र निर्देशनको सबै प्रक्रियामा यतिका वर्ष लाग्नु कोभिड महामारीले प्रभाव पारेको वर्षलाई गन्ती गर्दा पत्याउन सकिन्छ।
कमजोर पक्ष
यो चलचित्रमा सहरी ठिटाको रंगीन जीवनलाई चाहिनेभन्दा धेरै देखाइएको छ। पहिलो हाफभर ठिटाहरुले रमाइलोमात्रै गर्छन्। दोस्रो हाफमा चलचित्र अन्य नेपाली चलचित्र जस्तै दौडिएको छ, कहीकही दृश्य समायोजन हुन गारो छ। कथाकारले संकेत गरेका गल्लीहरु ‘भूपी गल्ली, डाउनडोल गल्ली’ हरु प्रस्ट छैनन्।
अनि चलचित्रमा विक्कीको पात्रलाई महत्वपूर्ण बनाइए पनि बलियो भूमिकामा छैनन्। पर्दामा लामो समय लिएका विक्की घरी केटाहरुलाई उकास्छन्, घरी उनीहरुलाई लखेट्छन् र धेरैजसो समय ट्वाल्ल परेर हेर्छन्मात्र।
अन्त्यमा…..
भन्न धेरै मन छ, तर यहाँ सबै लेख्नु चलचित्र निर्मातामाथि अन्याय हुन्छ। यसै पनि चलचित्रले हलमा संघर्ष गरिरहेको छ।
नेपाली चलचित्रको बजार छैन भनौँ भने फागुन १३ गते प्रदर्शन भएको चलचित्रका निर्माताहरुका अनुसार चलचित्रले करोडौँ कमायो। नेपाली चलचित्र क्षेत्रका दर्शकको स्वभाव बुझिसक्नु त छैन, तर पनि नेपाली चलचित्रमा फरक खालको प्रयोग अनि निर्देशक पाल्पालीको भाषा सापट लिएर भन्नु पर्दा, ‘धेरै युवाहरुको आफ्नो’ कथा चिसो एस्ट्रे हो।
कुनै अपराधमा आरोपित नायकको नाममा सिम्प्याथीले चलचित्र हेर्न जाने दर्शकको मनमा नेपाली चलचित्रप्रति माया छैन भन्न मिल्दैन।
चलचित्र हेर्न जाँदा म पूर्ण रुपमा दर्शक हुन्छु।
यत्ति भन्छु, यो चलचित्र हेरेर निस्किँदा पैसा अनि समय ‘खेर गयो’ भन्ने भान हुँदैन।