
चितवन – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँ ब्लकमा रहेका भूमिहीनहरुलाई बिहीबार जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन्।
भरतपुर महानगरपालिका– २९ को गाउँ ब्लकमा रहेका भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँ ब्लकको जमिनको लालपुर्जा दिने कामलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्।
उनले आगामी आर्थिक वर्षसम्ममा गाउँ ब्लकमा रहेका सबै भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडि बढाइएको जानकारी दिइन्। देशभित्र रहेका जग्गासम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्ने गरी योजना बनाएर मन्त्रालय अगाडि बढ्न लागेको उनले बताइन्।
राष्ट्रिय भूमि आयोगमार्फत भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको मन्त्री श्रेष्ठले सपष्ट पारिन्। ‘वास्तविक सुकुम्बासीले मात्रै जग्गा पाउने र गैरसुकुम्बासीले नपाउनेतर्फ जनता र जनप्रतिनिधिहरु सचेत हुनुपर्छ’, उनले भनिन्।
यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवनको इच्छा कामना गाउँपालिका, काठमाडौँको कीर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर थिमि नगरपालिका र तनहुँको बन्दीपुर गाउँपालिकाको गाउँ ब्लकमा रहेका भूूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको थियो।
२०२१ सालयता जग्गाको नापी हुँदा गाउँ ब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जाविहीनहरुलाई लालपुुर्जा वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको छ।