
बुटवल – रुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ।
राष्ट्रिय दलको मान्यता नपाएका दलको दर्तादेखि स्थानीय तहहरुसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायतका आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए।
उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा ३२ वटा दल दर्ता भएका छन्। रुपन्देहीमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, सचेत पार्टी दर्ता भएका उनले जानकारी दिए।
यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी, नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी पुष्पलाल, नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहट, विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली कांग्रेस वीपी, समाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन दर्ता भएका छन्।
यो सँगै रुपन्देहीमा ३८ दलले दलगत रुपमा चुनावी प्रतिस्पर्धा गर्न पाउने छन्। जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय छन्। यीमध्येका अधिकांश दलहरुले चुनावी अभियान थालिसकेका छन्। मुख्य दलहरु चुनावी अभियान लिएर गाउँनगरका टोलटोलमा पुगेका छन्।
दलहरुले चुनावी तयारी गरिरहँदा निर्वाचन कार्यालयले पनि आफ्ना काम अघि बढाएको छ। मुख्य निर्वाचन अधिकृत तोकिएसँगै निर्वाचनको लागि स्थानीय तहमा कार्यालय स्थापनादेखिका तयारी सुरु हुने उनले बताए। मुख्य निर्वाचन अधिकृतलाई यहाँको सिद्धार्थनगर नगरपालिका हेर्ने गरी जिम्मेवारी सुम्पिएको छ ।
निर्वाचन आयोगले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा लेखनाथ पौडेल, तिलोत्तमा नगरपालिकामा माधवप्रसाद लोहनी, देवदह नगरपालिकामा विष्णुप्रसाद आचार्य, लुम्बिनी सांस्कृतिक नगरपालिकामा यमबहादुर कुँवर, सैनामैना नगरपालिकामा विनोदप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ।
यस्तै कञ्चन गाउँपालिकामा देवन्द्रराज आचार्य, कोटहीमाई गाउँपालिकामा दीपक ज्ञवाली, गैडहवामा हरिहर पौडेल, मर्चवारी गाउँपालिकामा कमलप्रसाद पाण्डे, मायादेवी गाउँपालिकामा धर्मा अर्याल बेलवासे, रोहिणी गाउँपालिकामा रमिला भण्डारी, शुद्धोधन गाउँपालिकामा शोभाकर खरेल, ओमसतिया गाउँपालिकामा ताराकुमारी शर्मा, सम्मरीमाइ गाउँपालिकामा पिताम्बर भण्डारी, सियारी गाउँपालिकामा गिरीराज ज्ञवालीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ।
निर्वाचत अधिकृतलाई स्थानीय तहमा कार्यालय स्थापना गर्ने, फर्निचर, सीसीटीभी क्यामरा, इन्टरनेटजस्ता आवश्यक सुविधा मिलाउने जिम्मेवारी दिइएको छ। मतदान र मतगणनाको जानकारी आयोगमा दृश्य र अडियो दुवै माध्यमबाट गर्नुपर्ने भएकाले उक्त जिम्मा स्थानीय तहसँग समन्वय गर्ने गरी तोकिएको उनले बताए।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा २०८ वटा मतदान स्थल र ७०४ वटा मतदान केन्द्र निर्धारण भएको भण्डारीले बताए। यसअघि मतदान स्थल नबढाए पनि मतदान केन्द्र भने ६१० बाट बढाएर ७०४ पुर्याएको उनले बताए। यसअघिको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थल र ६१० मतदान केन्द्र थिए।
रुपन्देहीमा ६ लाख ३४ हजार ७९७ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदाता नामावलीमा दाबी विरोधमा केही संख्या घट्न सक्ने उनले बताए।