
बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको बोलपत्रबारे सरकारले छानबिन समिति बनाएको छ। मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार विकास समितिकोे बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रको विषयमा छानबिन गर्न मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ।
केसीको अध्यक्षतामा बसेको बैठकले बनाएको समितिको सदस्यमा कानुन सचिव राजेन्द्र थापा र ग्रामीण सहरी तथा पर्यटन सचिव महेशचन्द्र न्यौपाने सदस्य छन्।
सो समितिले प्रादेशिक अस्पतालको बोलपत्र प्रक्रियाबारे भएको विभिन्न विषयमा गहिरो ढंगले अध्ययन गरी १५ दिनभित्र समितिलाई पेस गर्ने आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले बताए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको लुम्बिनी प्रदेश सरकारद्वारा गठित प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदबाट दिएको राजीनामा पत्र बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको छ।
उनले आफ्नो राजीनामा पत्र कार्यालयमा पठाएपछि कार्यालयले दर्ता गरी प्रक्रियामा अगाडि बढाएको अधिकृत अष्टराज न्यौपानेले बताए। सो पदमा मन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबाट ०७८ असोज २० गते घिमिरेलाई नियुक्त गरेको थियो।