
काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी–साखु सडक खण्ड बिहीबार बिहान ७ बजेदेखि अवरुद्ध गरेका छन्।
उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुलसम्मको सडक खण्ड बन्द गरेका हुन्।
६ वर्षअघिदेखि निर्माणाधीन जोरपाटी–साखु सडक खण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन। धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ। यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन्।
यो सडक खण्ड काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ। जहाँबाट क्रमश: नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जितेका छन्। प्रदेश क्षेत्रमा पनि नेकपा एमालेका रामेश्वर फुयालले नेतृत्व गरेका छन्।
स्थानीय राजेन्द्र सिपाहीका अनुसार सडकको दुरावस्थाबारे संघीय सांसदलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारिएको हो।