
बेनी – बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ। बिहीबार बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ।
सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए। उनका अनुसार सवारीसाधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन।
बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एकापसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबैपक्षले एकापसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो। दुबै सवारीसाधनका धनी स्थानीयवासी नै भएकाले तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकामा आगलागी भएपछि घटना रहस्यमय बनेको छ।