
काठमाडौँ – नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौँमा सडक महोत्सव आयोजना हुने भएको छ। कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको पुनरूत्थान गर्न काठमाडौँको दरबारमार्गमा वैशाख ३ गते १५ औं दरवारमार्ग महोत्सव हुने भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँग सहकार्य गर्दै उक्त महोत्सव हुने भएको हो।
आन्तरिक पर्यटनलाई प्रवर्द्धनमार्फत देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महासंघले जनाएको छ। महोत्सवलाई नेपाली नयाँ वर्षको अवसरमा वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष आयोजना गर्ने पनि नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ।
‘वैशाख ३ गते बिहान १०ः०० बजे सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला–संस्कृतिहरुको प्रस्तुति गरिने छ। दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र सालिकसम्म र उत्तरतर्फ नाराणहिटी संग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ’, महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो सन्देशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताएका छन्। राजधानीमा हुने यो कार्यक्रमले देशैभर सन्देश जाने उनले आशा व्यत्तः गरे।
महोत्सवको लागि महासंघसँग भएको सहकार्यका बारेमा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको छ र अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको हाम्रो नेपाल पनि यो समस्याबाट अछुतो छैन। आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा मझौला उद्यमलाई प्रवर्द्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्याउन महासंघसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं।’
बिहान ११ः३० बजे औपचारिक शुुभारम्भ हुने महोत्सवमा बेलुका ८ः१५ बजेसम्म मनोरञ्जनात्मक प्रस्तुतिहरु हुुनेछन्। महोत्सवमा दीपक बज्राचार्य, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, सन्दीप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य समूहहरु सृष्टि केसी एन्ड ब्लाइन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कबवेब र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिने महासंघले जनाएको छ।
महासंघका अनुसार महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकारहरु, उत्पादनहरु र हस्तकलाका वस्तुहरुको प्रदर्शनसमेत गरिने छ। महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन्। महोत्सव क्षेत्रमा वालवालिकाका लागि छुट्टै किड्स जोनको व्यवस्था गरिनेछ।