अभिनेत्री करिश्मा मानन्धरले गएको चैत ८ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सदस्यता लिइन्। यसपछि उनी आधिकारिक रुपमा राजनीतिमा होमिइन्। एमालेभन्दा अगाडि उनी डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको तत्कालीन नयाँ शक्ति नेपाल, पार्टीमा आवद्ध थिइन्। पछि पार्टीमा आफ्नो उपस्थितिको विषय खड्किएपछि उनले राजनीतिबाट टाढा रहने र आफ्नो छुटेको पढाइलाई निरन्तरता दिने निर्णय गरिन्।
मैतिदेवीस्थित त्रिवेणी पब्लिक सेकेन्डरी स्कुलमा ७ कक्षामा भर्ना भएर कक्षा १० सम्म अध्ययन गरेकी करिश्माले मानविकी संकायमा प्लस टु उत्तीर्ण गरिन्। हाल स्नातकोत्तर अध्ययन गरिरहेकी मानन्धरले आफूलाई मूलधारको राजनीतिमा उभ्याएकी छन्।
एमाले पार्टी प्रवेशको उद्देश्य र राजनीतिमा उनको उपस्थिति कुन रुपमा अगाडि बढ्ला, साधारण सदस्य बनेर एमालेमा प्रवेश गरेकी मानन्धरको पार्टीभित्र रहनुको उद्देश्य के हो? यसबारे उनले देशसञ्चारसँग कुराकानी गरेकी छन्।
१. पार्टी प्रवेशपछिको दुई साता कस्तो भइरहेको छ?
अहिले म पार्टीका साथीहरुसँग परिचयको क्रममा छु। विभिन्न कार्यक्रममा जाने गरेको छु। ताकि धेरै भन्दा धेरै साथीहरुसँग भेटघाट होस्।
२. तपाई पहिला नयाँ शक्ति नेपालमा आबद्ध हुनुहुन्थ्यो, अहिले एमाले प्रवेश गर्ने सन्दर्भ कसरी मिल्यो?
मान्छेले जो सोच्छ, त्यही अनुसारका लक्ष्य आफूतर्फ आकर्षित हुन्छ। जस्तो तपाईँलाई यदि चित्रकला सिक्न मन छ भने तपाईँले बाटोतिर हेर्दा चित्रकला सिकाउने ठाउँ देख्नुहुन्छ।
राजनीति पनि मेरो लागि त्यही हो, मैले नयाँ शक्ति नेपाल, पार्टीमा आवद्ध भएपछि राजनीतिमा जुन तरिकाले लागेको थिए, त्यसरी लाग्ने हैन रहेछ, मैले धेरै कुरा बुझ्न जान्न आवश्यक रहेछ भन्ने थाहा पाएँ। आफूमा धेरै सीप विकास गर्नुपर्ने रहेछ भन्ने मनन भयो। त्यसपछि मैले केही समय ग्याप लिए।
अहिले मलाई कुनै राजनीतिक पार्टीको सिद्धान्तसँग आबद्ध भएर अगाडि बढ्न जरुरी छ भन्ने लाग्यो र सही समय पनि यही भयो।
३. सही समय भनेको?
आफू तयार हुन हो।
जस्तो आफूलाई राजनीतिक विषयमा सोधिएका कुरा र तपाईले राजनीतिमा लागेर गर्न खोजेको कुरा स्पष्ट हुनुपर्यो। तपाईँसँग सोधिने कुराको जवाफ हुनुपर्यो र राजनीतिमा किन आएको भनेर पनि प्रस्ट हुनुपर्छ। यी सबै कुराले गर्दा म अहिले तयार भएजस्तो लाग्यो।
४) तपाईँले चाहनुभएको चाहिँ के हो ?
एकजना शुभ चिन्तकले मलाई बिहानमात्र सोध्नुभएको थियो, तपाईँ आफूमा यति सक्षम र बलियो स्थान भइसकेको मान्छे यो सबै छोडेर आफूलाई गौण बनाउनु भएको?
मैले म आफू यसमा धेरै खुसी भएको बताएँ। किनकि मैले ३० वर्षको कला यात्रा र व्यक्तिगत जीवन मेरो लागि धेरै कुरा गरिसकेँ। अब म अरुको लागि केही गर्न चाहन्छु। त्यसैले म गौण बन्दा केही छैन।
मेरो उद्देश्य के हो भने हाम्रो मुलुकमा महिला पछाडि छन्, महिलाको कार्यक्रममा महिलालाई ३३ प्रतिशत हैन, ५० प्रतिशत नै आरक्षण चाहिन्छ भन्ने सुन्छु। तर भनिए अनुसार ३३ प्रतिशत सहभागिता छ त ? त्योतर्फ पनि ध्यान जानुपर्यो।
अहिलेको लागि तपाई मलाई कलाकार भनेर बिर्सनुस्, नेपाली नारी मात्र मान्नुहोस्। मेरो सहभागिता राजनीतिसँग छ। त्यसरी सोध्दा सकारात्मक नै मान्नुपर्छ।
५) कलाकारितामा तपाईँको सक्रिय ३० वर्ष थियो। तपाईँ निर्माणको काममा पनि लाग्नु भएको थियो, त्यही क्षेत्रको विकासको लागि किन नलाग्नुभएको?
यो क्षेत्रलाई अगाडि बढाउन नलागेको भए, मलाई कसैले पनि अहिलेसम्म करिश्मा मानन्धर भनेर सम्झिँदैन थिए। हामी सबै कलाकार सबै यो क्षेत्रलाई अगाडि बढाउन नै लागिपरेको हो।
देशमा राजनीतिक शक्तिको स्थायित्व नहुँदा त्यसको असर सबै क्षेत्रले भोग्नु पर्छ। हाम्रो कला क्षेत्रमा पनि धेरै उतारचढाव आउँछ। भूकम्पले चलचित्र क्षेत्रलाई अप्ठेरो पार्यो, कोभिड १९ ले त कति हल बन्द नै भए।
कलाकार भएपछि आफ्नो क्षेत्रलाई अगाडि बढाउन त लागिपरिन्छ नै, तर म अहिले सक्रिय भएर हिँड्न सक्ने समय छैन। साम्राज्ञी राज्य लक्ष्मी शाह, स्वस्तिमा खड्का लगायतका कलाकारहरुले जसरी काम गरेर हिँड्ने मेरो समय छैन । त्यसरी काम गर्ने बेला हुन्छ। अब मैले गर्ने सहयोग फरक किसिमको हुनसक्छ।
६) राजनीतिमा तपाईँको उपस्थितिले के फरक पार्ला ?
म बोल्छु।
अहिले म सदस्यमात्र हुँ। कलाकार भएको नातालेमात्रै धेरै सञ्चार माध्यमले मलाई ठाउँ दिएका हुन् । पार्टीभित्रकै कतिपय महिला साथीहरुले भन्ने गरेको सुनेको छु, उहाँलाई यति धेरै महत्व किन ? भनेर भन्ने गरेको सुनेको छु। हो उहाँहरुले भनेकोमध्ये नयाँ कुरा के हो भने म नयाँ हुँ। मैले धेरै काम गर्न बाँकी छ। तर मेरो तर्फबाट आफ्नो स्थानमा रहेर म बोल्न सक्छु।
त्यो ठूलो बल हो। पछि मैले के पद पाउँछु, त्यो फरक कुरा हो।
७) नयाँ शक्ति पार्टी नेपालको छोड्ने बेलामा तपाईले आफू थप्पडी बजाउन मात्र पार्टीमा नरहने भन्नुभएको थियो, एमालेमा तपाईँको उपस्थिति कस्तो हुन्छ होला ?
म ‘फाइटर’ हो। म एकदमै जुझारु छु। मेरा बोल्ने शैली, अरुलाई भन्ने तरिका फरक हुन्छ। म आफूलाई ठीक हुने ठाउँ पाइन भने म प्रश्न गर्छु। तर पहिला मेरो योगदान पनि हुनुपर्यो। त्यसपछि म प्रश्न तेर्स्याउँछु।
८ ) कलाकारहरुले राजनीतिक पार्टीमा आबद्ध हुँदा केही पदसहित गएको देखिन्छ, तपाईँलाई पनि केही पद दिने भनिएको होला नि!
हामी कुनै पनि क्षेत्रमा लाग्छौँ, त्यो क्षेत्रमा लागेपछि त्यसले केही प्रतिफल त दिन्छ नि! त्यसको लागि काम गर्ने हो। अहिलेसम्म केही कुरा पनि भएको छैन। तर म पदको आकांक्षी हो।
कुनै पनि मानिसलाई पदको आकांक्षा भएन भने उसको प्रगति रोकिन्छ। मेरो आकांक्षा ‘गुड कज’ का लागि हो।
९) स्थानीय चुनाव आउन लाग्यो, तपाईँ भिड्दै हुनुहुन्छ कि ?
मैले अहिलेचाहिँ केही सोचेको छैन, म चाहन्छु मलाई मेरो पार्टी, नेतृत्वले मलाई निर्देशन गरोस्, मलाई सहयोग गरोस्, मार्गनिर्देशन गरोस्। म महिलाहरुको लागि, बालबालिकाहरुको लागि केही गर्न चाहन्छु। आफ्नो क्षेत्रको लागि केही गर्न चाहन्छु। उहाँहरुले मलाई त्यो प्रकारले अगाडि लैजानुहुन्छ।
१० ) नयाँ शक्ति नेपाल पार्टी छोडेपछि विद्यालय जानुभयो, स्नातकसम्म पुगपछि तपाईँ फेरि राजनीतिमा आउनु भएको छ, बीचमा चाहिँ केही पढेर आउँ भनेर हो?
शिक्षाकै लागि हो नि। मैले धेरैपल्ट भनेको छु। शिक्षा कुनै पनि मेरुदण्ड हो, हरेक नागरिक शिक्षित भयो भने यो कुरीति हटाउन अनेक किसिमको कार्यक्रमहरु गर्नै पर्दैन। शिक्षाले नै जागरण हुन्छ।
जुन देशको महिलाहरु सशक्त छन्, त्यो मुलुक समृद्ध हुन्छ। जसरी महिला भएको घर राम्रो हुन्छ। फूलको गमला कहाँ राख्ने, भान्छामा सामान कहाँ राख्ने, बेडरुम कस्तो हुनुपर्छ, छोराछोरी कस्तो हुनुपर्छ, परिवारका सदस्य कसरी राम्रो हुने भन्ने महिला राम्रो भइन् भने हुन्छ। त्यसैले महिला राम्रो हुनुपर्यो। महिलालाई राजनीतिमा पनि अगाडि लग्यो भने देश राम्रो हुन्छ।
औपचारिक शिक्षालाई म किन जोड दिन्छु भने, यसले मलाई धेरै फाइदा भयो। शिक्षाले ल्याएको परिवर्तन म आफैले महशुस गरेको छु। पार्टीमा पनि सबै महिला उत्तिकै सशक्त सक्षम हुनुहुन्छ भन्ने छैन। यदि सबै महिला सक्षम भए भने पार्टी कहाँ पुग्छ, देश कहाँ पुग्छ ?
१०) नयाँ शक्ति छोडेपछि तपाईँले एमाले नै किन रोज्नुभयो ?
समाजवाद भनेर हामी भन्छौँ। धेरै अगाडिदेखि यो सिद्धान्त अभ्यासमा छ, कतिपय देशमा यो सिद्धान्तलाई नयाँ रुपमा लैजाने बेला भइसकेको छ। तर हामी विकाशशील देश हौँ। यहाँ विविधता छ। धनी सारै धनी गरिब असाध्यै गरिब छन्। ती सबैलाई समेट्न समाजवाद आवश्यक छ नै। त्यही भएर नै म डा. भट्टराईसँग आवद्ध थिए।
मेरो अहिले पनि फरक खालको विचार हैन। तर राम्रो अनि ठूलो पार्टीमा आवद्ध भएर अगाडि बढ्दा आफ्नो लक्ष्य हासिल गर्न सहज हुन्छ।
११ ) एकपल्ट केपी ओलीले फोन गरेको भन्ने सन्दर्भ आएको थियो, त्यो बेलादेखि नै होला हैन एमाले प्रवेशको सन्दर्भ बनेको हो?
सोच पहिलादेखि नै थियो। तर त्यसलाई संयोग नै भन्नुपर्छ। मैले अघि नै भनेँ नि, तपाईँ जे राम्रो मनले चाहनुहुन्छ, त्यो तपाईँको अगाडि नै आइपुग्छ। म त्यही सोचिरहेको थिए, उहाँको साथीभाईसँग कुराकानी गर्दै थिए। उहाँले कतैबाट थाहा पाउनु भयो कि, केपी जि ले फोन गर्नुभएपछि म सारै खुसी भए। त्यो मलाई उहाँसँग भेट्ने बाहाना बन्यो। सम्बन्ध भयो।
१२ ) कलाकारिता क्षेत्रमा राजनीतिक चेत कस्तो पाउनुहुन्छ?
चेत छ, त्यो दुई प्रकारको छ।
एउटा राजनीतिद्वारा समाज परिवर्तन हुन्छ र यसमा मैले पनि योगदान पुर्याउन सक्छु भन्ने हुन्छ, शुद्ध रुपमा ।
अर्को चाहिँ स्वार्थ भरिएको राजनीति। आफ्नो काम पूरा गर्न र शक्तिमा भएकाहरुलाई प्रयोग गर्नको लागि अभ्यास गर्ने गरिन्छ।
दोस्रो एकदमै गलत हो। यो प्रवृत्ति, संस्कार हटाउनुपर्छ। हामीले नवीनतालाई प्राथमिकता दिनुपर्छ। रचनात्मकतालाई प्राथमिकता दिनुपर्छ।
मैले पार्टी प्रवेश गर्दा धेरै किसिमका टिका टिप्पणी भएका थिए, तर म शुद्ध हिसाबले यो क्षेत्रमा सेवा गर्न आएको हो।
१३ ) तपाईँले न्वारनको नाम भन्दा धेरै टिका टिप्पणी आएको थियो नि।
म हर्षित छु। उहाँहरुलाई मेरो न्वारनको नाम भन्दा धेरै चिन्ता लाग्यो जस्तो छ । चिन्ता लिने जनसंख्या रहेछ, त्यही कुरामा खुसी छु।
धेरैले त्यो पोस्टमा ‘मेरो नाम पनि सूर्य कुमारी’ भनेको देखेँ। म चाहन्छु सबैको नाम सूर्यकुमारी होस्। ३ करोड जनसंख्यामा डेढ करोड महिला छन्। हरेक महिला सूर्यकुमारी जस्तै बलियो हुनुपर्छ।
मैले के मात्र भन्न खोजेको हो भने, मैले यसलाई सकारात्मक रुपमा लिएको छ।
१४ ) अहिले त एकदमै राम्ररी जवाफ फर्काउनु भयो, तर राजनीतिक पार्टीका नेताहरुले अरुको आलोचना गर्दा एकदमै रुखो शब्द प्रयोग गर्ने गर्छन्।
कृष्णजीले भन्नु भएको छ, १०८ पल्ट सहनु १०९ मा नसहनु। मेरो शैली फरक हुन्छ। सत्य हो, मलाई अरुलाई निच शब्द प्रयोग गरेको मन पर्दैन। मलाई नराम्रो भन्नेभन्दा मलाई टाढा नै बस्न मन लाग्छ।
म नराम्रो कुराको विरोध गर्छु तर सभ्य भाषाले विरोध गर्छु। त्यस्ता प्रवृत्तिको प्रतिकार गर्नुपर्छ।
१५) अन्तिममा नयाँ शक्ति पार्टीमा आवद्ध भएर केही समयमा नै बाहिरिनुभयो। एमालेमा पनि भर्खरै प्रवेश गर्नुभएको छ। हामीले करिश्माजीले फेरि पार्टी परिवर्तन गरेको खबर सुन्ने सम्भावना कति छ ?
म चुप लागेर बस्नुपर्ने मान्छे होइन। म पार्टीमा धेरै विचार गरेर लागेको छु। समाजवादबाट समाज भएको मेरै समयमा हो। म अहिले ५० वर्ष भएँ। अब तपाईँ भन्नुस म ५ वर्ष अथवा १० वर्ष बाँचौला। त्यो अवधिमा यो देशमा धेरै परिवर्तन हुन्छ। मलाई त्यो हेर्न मन छ।
तपाईँले भन्नुभएको जस्तो असफलता हासिल गरे भने छोडुँला, तर अर्को कुनै विचारधारासँग आवद्ध भएर जान सक्दिन।
पार्टीगत राजनीतिको कारण म निष्क्रिय हुने सम्भाँवना हुन्छ। त्यसो भए पन म चुप बस्दिन । म पार्टीमै आवद्ध नरहेपनि केही न केही गरिरहन्छु। शिक्षामा मलाई गर्ने ठाउँ छ। व्यापार छ, चलचित्र क्षेत्र छ।
जब तपाईसँग राम्रो नियत हुन्छ नि, मरुभूमिमा गए पनि हरियो उमार्न सकिन्छ। मेरो ध्येय त्यही हो, म त्यसैमा अन्तिमसम्म लाग्नेछु ।