
काठमाडौं – नेपथ्यले विश्वव्यापी कोरोना भाइरस महामारीपछि पहिलोपल्ट सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ। २०७९ सालको वैशाख १ गते दमकमा नेपथ्यले कन्सर्ट आयोजना गर्न लागेको नेपथ्य व्यवस्थापन गरिरहेको नेपालयले जनाएको छ।
नयाँ भाइरसले सिंगो विश्वलाई दुइ वर्षभन्दा बढी बिथोलेपछिको समयमा परिस्थिती अनुकूल बन्दै गएको संकेत देखिएकाले हाम्रा एकापसमा जोडिने सारा गतिविधि ठप्प भए । कहालीलाग्दो अवस्थाबाट सामान्यतर्फको यो संक्रमणलाई संगीतमय बनाउने पहलमा नेपथ्य फेरि आफ्ना शुभचिन्तक दर्शक श्रोताहरुको सामुन्ने उभिने तयारीमा जुटेको छ ।’
नेपालयको अनुसार त्यसको प्रारम्भ दमकबाट हुँदैछ।
‘२०७९ सालको बैशाख १ गते, नयाँ वर्षको दिनलाई संगीतमय बनाउन चाहने नेपथ्यप्रेमीहरुका निम्ति झापाको फराकिलो मैदानले स्वागत गर्नेभएको छ ।’ नेपथ्यका अनुसार दमकको ‘इँटाभट्टा स्कुल’ (सरस्वती माध्यमिक विद्यालय) को प्रांगणमा नेपथ्य फेरी उभिने भएको हो। यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितीमा त्यसै मैदानमा आफूलाई उभ्याएको थियो ।
यसरी खुलाआकाशको चौरमा प्रस्तुत हुनुअघि उक्त सहरका अघिल्लो तीनवटा कन्सर्ट सिनेमाहलमा आयोजना गरिएका थिए । पछिल्लो खुला कन्सर्टका निम्ति भने पाँच वटा ट्रकमा काठमाडौंदेखि लोड गरेर आधुनिक मञ्चदेखि प्रकाश व्यवस्थाहुँदै ध्वनी प्रणालीसमेत त्यहाँ पु¥याइएको थियो ।
‘संगीतप्रेमी दर्शकहरुका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भब्यता पूर्वक उभ्याउने तयारी गरेका छौं,’ व्याण्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्य प्रेमीलाई नयाँपन महशुस गराउने थप जमर्को पनि हुनेछ ।’
भौगोलिक अवस्थिती, राजनीतिक वातावरण र सम्पर्कका आधारमा दमक पूर्वाञ्चलकै अर्को केन्द्रका रुपमा विकास हुँदै गइरहेको छ । पछिल्लो कन्सर्टका बेला पनि धरान, विराटनगरहुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिती जनाएको नेपालयले जनाएको छ। त्यो सहरमा नेपथ्यको यो पाँचौ प्रस्तुती हुँनेछ।
कोरोना भाइरसको महामारी अगाडि नेपथ्यको प्रस्तुती काठमाडौंको भृकुटी मण्डपमा भएको थियो। २०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनः निर्माणका लागि आयोजना गरिएको थियो । त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुती बन्न पुग्यो ।
यसपटक को नेपथ्य कार्यक्रम दुइ बर्ष पछिको अन्तरालमा हुँदैछ ।
‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जटिल बन्दैगएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाश उन्मुख प्रकृति र संकटग्रस्त मानव जीवन बीचको सम्वन्ध अझ खुल्दै गए ।’
त्यो एकान्तिक अवधिमा संगीतको अभ्यासलाई पनि जारी राखेको उनी सुनाउँछन् ।
‘बैज्ञानिकहरुको अथक प्रयासले यसैपाला इतिहासमै सबैभन्दा छिट्टो यो भाइरस विरुद्धको भ्याक्सिन पनि तयार भयो,’ अमृत थप्छन्, ‘अब विस्तारै हामी सबैले आ–आफ्ना कर्महरुबाट संसारलाई पूर्ववत् अघि बढाउनुपर्ने दायित्व आइपुगेको छ ।’
‘नयाँ वर्षकै दिन दमकमा आयोजना हुने नेपथ्यको कन्सर्ट हाम्रा तितो विगतलाई विसाएर नयाँ दिनको स्वागत गर्ने जमघटका रुपमा पनि महत्वपूर्ण हुने अमृतको विश्वास छ । उनी भन्छन्, ‘कन्सर्टमा सदा झैँ नेपथ्यका सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्नुका साथै केहि नयाँ प्रस्तुतीको तयारी रहेको छ।’
दमकमा यो कन्सर्ट सफल पार्नका निम्ति स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी अघि बढाइसकेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो ।
‘दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले आवश्यक तयारीहरु अपनाएका छौं,’ आयोजक नेपाली टचका राज गोश्वामी भन्छन् ।
यो कन्सर्टको टिकट विक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन् । स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ । अनलाइन टिकट थुप्रै डटकम मार्फत प्राप्त हुने व्यवस्था गरिएको छ । कन्सर्टको लागि साँझ पौने ५ बजे मैदानको गेट खोलिने नेपथ्यले जनाएकाे छ।