काठमाडौँ – बझाङको सुनिकोटका गणेश ऐडीले २४ वर्षपहिले गाउँबाट धागो ल्याएर काठमाडौँमा उद्योग स्थापना गरी कपडा बुन्न थाले।
संघर्षका दौरान ०६३ सालमा भने आफूले फाट्टफुट्ट काम गर्दै जाँदा जम्मा भएको ७० हजार रुपैयाँबाट उनले काठमाडौँको बूढानीलकण्ठमा ‘फरेस्ट्री हेम्प ब्याग उद्योग’ सञ्चालन गरे।
गणेशको उद्योगमा गाँजा र अल्लोको जुत्तादेखि मोजा, ट्राउजर, पाइन्ट, सर्ट, कोट, झोला, स्लिपिङ ब्याग, योगा म्याट, ह्याट, मास्कलगायत सामान बन्छन्।
गाँजाको कपडा तयार पार्न ११ वटा प्रक्रिया पार गर्नुपर्ने गणेश बताउँछन्।
उनका अनुसार गाँजाको बोटमा तीन प्रकारको ‘बडी’ हुन्छ। भित्री काठ, बाहिरी बोक्रा र त्यस बीचमा बसेको हुन्छ रेसा। त्यसलाई प्राकिृतिक गमले एकापसमा टाँसेको हुन्छ।
रेसालाई छुट्याउनुपर्छ। गाँजाको हड्डी वा काठबाट त्यो फाइबर बाहिर निकाल्नुपर्छ। त्यसका लागि पहिला गाँजाको बोट काटिसकेपछि राम्ररी सुकाउनुपर्ने उनी बताउँछन्।
त्यसपछि फेरि ४८ घण्टा पानीमा भिजाउनुपर्छ। अनि गमजति गलेर लिक्विडमा परिवर्तन हुन्छ। फेरि त्यसलाई भाँचेर अथवा चिरेर सजिलैसँग बोक्रा निकालिन्छ। त्यसलाई तुरुन्त पकाउनुपर्छ अर्थात् कुटे पनि हुन्छ। त्यसलाई स्टोरेज गर्नु छ भने हाइ स्टेजका लागि राम्रोसँग सुकाउनुपर्ने हुन्छ।
जतिबेला आफूले चाह्यो त्यतिबेला पुनः भिजाएर काम गर्न सकिने गणेश बताउँछन्। त्यसपछि फाइबरलाई कम्तीमा २–३ घण्टा भिजाउनु पर्छ। भिजाइसकेपछि कास्टिङ सोडामा केमिकल हालेर पकाउने।

ताउलीमा १० लिटर पानी राखिसकेपछि त्यसमा आधा किलो कास्टिङ सोडा राखेर हेम्प वा अल्लोको फाइबर चार किलो राखेर पकाउन सकिन्छ अर्थात् त्यो पानीमा राम्रो किसिमको दुई किलो सेतो खरानीलाई राम्ररी घोलेर भिजाएको अल्लो चार किलो पकाउँदा पनि हुन्छ।
तर, खरानी प्रयोग गरियो भने कम्तीमा ८ घण्टा पकाउनुपर्ने हुन्छ। कास्टिङ सोडामा पकाउँदाचाहिँ ४ घण्टामै पाक्छ।
पाकिसक्दा रेसा एक आपसमा छुट्टिएको हुनुपर्छ। र, त्यसलाई खोलामा लगेर पानीमा कुट्दै बोक्रा र फाइबर छुट्याइन्छ। राम्ररी कुटिसकेपछि र पखालिसकेपछि अझै पनि केही मात्रामा त्यसमा गम रहन्छ। गम छुट्ट्याउन कमेरो माटो प्रयोग गरिन्छ।
कमेरो माटोले रेसामा भएको गमलाई सोसिदिन्छ। माटोमा मुछेपछि त्यो घाममा सुकाइन्छ। सुकेपछि लठ्ठीले कुटेर पाउडर बनाई माटोसहित बाहिरको बोक्रा निकालिन्छ। अनि त्यो राम्रो फाइबर बन्छ। अन्तिममा त्यसलाई आ–आफ्नो तरिकाले चर्खा या मेसिनमा धागो कातेर त्यसको धुलो बनाउँछन्। त्यसबाट कपडा बनाइन्छ।

भर्खरै
लोकप्रिय






































































































































































































