
बुटवल– नेकपा एमाले अर्घाखाँचीले अर्घाखाँचीका ३ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ। नेकपा एमालेको पालिका स्तरीय बैठकबाट शितगंगा, भूमिकास्थान र पाणिनी गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार टुंगाएको हो।
एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालका अनुसार, भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेलको टुंगो लागेको छ। माओवादीबाट भूमिकास्थानमा प्रमुख जितेका थापा केही साताअघि एमाले प्रवेश गरेका थिए।
शितगंगा नगरपालिकाको प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाट क्षेत्रीको सिफारिश भएको छ।
पाणिनी गाउँपालिकाको अध्यक्षका लागि एमालेले टेकराज न्यौपानेको नाम टुंगो लागेको छ। थप छलफलपछि उपाध्यक्षको नाम सार्वजनिक गरिने एमाले पाणिनीका अध्यक्ष कमल घिमिरेले बताए।
बाँकी रहेका छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका, सन्धिखर्क नगरपालिकामा केही दिनमै उमेदवारको टुंगो लगाउने अध्यक्ष भुसालले बताए।