म चुनाव हार्दिन, विश्वास नलागे ‘प्रि–इलेक्सन’ गरेर हेरौँ: बालेन शाह

+
-

स्थानीय तहको चुनाव आउन अब एक महिना मात्र बाँकी छ। राजनीतिक दलहरु अहिले आफ्नो क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदैमा व्यस्त छन्। यता धेरै युवाहरु खुल्ला रुपमा आफ्नो उम्मेदवारीको घोषणा पनि गरिरहेका छन्।

७ सय ५३ वटा स्थानीय तहमध्ये हरेक क्षेत्रबाट चासोको केन्द्रमा रहने काठमाडौँ महानगरपालिकामा यसपल्ट र्‍यापर तथा ‘स्ट्रक्चरल इन्जिनियर’ बालेन शाहले उम्मेदवारी दिने घोषणा गरका छन्।

उनले पछिल्ला केही महिनादेखि काठमाडौँको मेयरको आकांक्षी बन्नुको कारण पनि बताउँदै आएका छन्। चुनाव नजिकिँदै गर्दा धेरै जसो सार्वजनिक कार्यक्रममा पुग्ने गरेका बालेन कलेजमा पनि पुगेर युवा जमातलाई आफ्नो उद्देश्य बुझाइरहेका छन्।

उनले देशसञ्चारसँग चुनावी तयारी र मेयर भएपछि काठमाडौँमा रहेका उनका योजनाहरु साझा गरेका छन्।

१) चुनावको तयारी कस्तो हुँदैछ?

हामीले कार्यक्रमहरु गरिरहेका छौँ। वैशाख अगाडि हामीले युवा लक्षित भेटघाट कार्यक्रमहरु गरिरहेका छौँ। राजनीति भन्ने बित्तिकै कस्तो ‘फोहोरी खेल’ हो, ‘यहाँ नराम्रो मान्छे मात्रै जाने हो’ भन्ने भन्ने परेको छ युवाहरुमा, हामी त्यसलाई पखाल्न खोज्दैछौँ। त्यसैले हामी यही युवाहरुलाई भेट्ने काममा धेरै व्यस्त छौँ।

राजनीतिमा पढेको मान्छे आउनुपर्छ, सुरुमा मानिसले आफूलाई उकास्नु पर्छ, त्यसपछि राजनीतिमा आउने हो भन्ने सन्देश दिन असाध्यै जरुरी छ। आफू उक्सिएको मान्छे गयो भने र उसले अर्काको जीवनस्तर उकास्छ भन्ने विश्वास हुन्छ नि हैन?

एकजना युवाले मलाई सोध्नुभयो, ‘बालेन दाइ तपाईँलाई युवाहरुले भोट दिन्छन् त ?’

मैले भने, ‘नेपालमा ७० प्रतिशत युवा भोटरहरु छन्। तिनीहरुले नै निर्धारण गर्ने हो नी नेतृत्वको ताल्चा साँचो!’

मलाई अहिले चाहिँ युवाहरुले यो कुरा बुझिरहेका छन् जस्तो लाग्छ।

२) तपाईँले चाहिँ राजनीतिलाई कसरी बुझ्नु भएको थियो?

मैले बुझ्दा पहिला नेताहरु अध्ययनशील थिए। बीपी कोइराला डेमोक्रेटिक पार्टीका भए पनि उनले जति ‘कम्युनिजम’ कसले पढेको थियो होला र ! त्यो समयका नेताहरु पढेर, बुझेर अनि सिद्धान्त बोकेर राजनीति गर्न आउनुहुन्थ्यो। तर अहिलेचाहिँ समाजको अध्ययन नगरीकन, संस्कार–सँस्कृति नबुझीकन, विकास भनेको के हो ? नबुझीकन राजनीतिमा लागेका छन् जस्तो लाग्छ।

नेतृत्व लिनेहरुले अध्ययन गरेर पनि आउनुपर्‍यो।

मेरो काम मूलधारको राजनीति हैन, मैले गर्न खोजेको विकास निर्माणको काम हो। मलाई यही काममा आइपर्ने हरेक क्षेत्रको केही ज्ञान र टर्मिनोलाजीहरु बुझ्ने मानिसचाहिँ मेयर हुनुपर्छ जस्तो लाग्छ।

पार्टीको प्रक्रियामा आएर, चलन चल्तीको भाषा अनुसार भन्दा ‘४० वर्ष ढुंगा हानेर आएको’ पृष्ठभूमिको मान्छे आएर मेयर भई काम गर्न सक्दैनन् भन्ने पछिल्लो ५ वर्षको उदाहरण हो।

३) तपाईँ काठमाडौँमा जन्मेको मान्छे, पहिला देख्दा काठमाडौँ कस्तो थियो?

काठमाडौँमा सँस्कृति जोगाउने परम्परा एकदमै राम्रो थियो। जात्रालाई एकदमै उत्साहको साथ मनाइन्थ्यो। यहाँका घरहरुलाई एकदमै जोगाएर राखिएको थियो।

घर निर्माण गर्ने पहिलाको जुन वैज्ञानिक प्रविधि थियो नि त्यो बिस्तारै हराउँदै गयो।

सन् १९८० देखि नेपालमा अलिकति पैसा भयो भने सिमेन्टको घर नै बनाउने भन्ने चलन चल्यो । ढलान भएको घर नहुनेहरुलाई गरिब भन्न थालियो। चपाछेँहरु बिस्तारै बन्द गर्दै मानिसहरु पार्टी प्यालेसमा जान थाले। नेवारी शैलीमा भोज गर्ने चलन पनि विस्तारै हराउन थाल्यो। पार्टी प्यालेसमा भोज गर्न नसक्ने गरिब भनिन थाले।

हामी जुन तरिकाले अव्यवस्थित तरिकाले आधुनिक भयौँ नि, त्यसले हाम्रा धेरै चिज मासिए र धेरै चलन बिग्रिए। खासमा हाम्रो नेवा भोजमा हाम्रो पाचन प्रणाली अनुसार पहिला के खाने, त्यसपछि के खाने र अन्तिममा के खाने भनेर व्यवस्था नै बसालिएको थियो। अहिले हामी अव्यवस्थित भयौँ, हाम्रा पुराना शैली ठीक थिए।

हुन त मलाई मान्छेले पुराना कुरा धेरै गरिस् भन्छन्। तर मैले हाम्रो मौलिक वैज्ञानिकता र व्यवस्थाको कुरा गर्न खोजेको हुँ। त्यसैले त्यो चीज सुधारिनु पर्छ भन्ने हो।

म स्ट्रक्चरल इन्जिनियर हुँ, मेले सिकेको १०० तलाका भवन, फ्लाइओभर बनाउने हो। तर मैले काठमाडौँ उपत्यकामा के चाहिन्छ भन्ने बुझ्नुपर्छ। काठमाडौँलाई इन्जिनियर भन्दा पनि अरनिको जस्तो मान्छे चाहिएको छ। उहाँको कलालाई साथ लिएर अगाडि बढ्ने हो।

हामीले पुरातात्विक महत्व भएको ठाउँ, पशुपति, बसन्तपुर र बौद्धमा कङ्क्रिट घर नबनाई त्यस्तै किसिमको घरहरु बनाउन सक्छौँ, बानेश्वर, दरबार मार्गमा हङकङका जस्ता भौतिक संरचना निर्माण गर्न सकिन्छ। जुन ठाउँलाई मोर्डन बनाउन सकिन्छ, त्यसलाई मोर्डन गरौँ, कलात्मक क्षेत्रको कलालाई मर्न नदिऔँ।

४) तपाईँले गर्नुभएको ‘स्पेसलाइजेसन’ ले यस्तै कुरा गर्छ त?

नेपाललाई एकैपल्ट न्यूयोर्क बनाउँछु भन्नु हुँदैन। हाम्रो जुन शैली छ त्यसलाई मार्नुभएन नि! आधुनिक हुनु भनेको कङ्क्रिट र स्टिल मात्र हैन । भनिन्छ, भूकम्प प्रतिरोधी घर नेवारी संरचनामा बनेका घरहरु हुन्। नेपालमा सिमेन्टले भूकम्प प्रतिरोधी घर बनाउने प्रयत्न गरिएको छ।

तर त्यति नै बजेटमा गर्मीमा शितल, जाडोमा न्यानो हुने घरको शैली बेवास्तामा परेका छन्। यस्ता भौतिक संरचना पर्यटकीय महत्वका हिसाबले पनि विशेष छन्।

५) मेयरको लागि कति समयको तयारी हो?

मेयरकै लागि तयारी गरेको ५ वर्ष भयो, मैले घोषणा गरेको साढे २ वर्ष अगाडि नै हो। त्यो बेला मेरो कुरा त्यति गम्भीर रुपमा लिइएन। त्यो बेला चुनाव आएको थिएन। अहिले साढे ३ महिना अगाडि मैले फेरि घोषणा गरेपछि यो विषयलाई अलि गम्भीर रुपमा लिइयो।

हामीले ५ वर्षमा काठमाडौँलाई अध्ययन गर्ने, स्वास्थ्यको विज्ञ, शिक्षाको विज्ञ, यातायात व्यवस्थाको विज्ञ, ठोस फोहोर व्यवस्थापनको विज्ञहरुबाट रोड म्याप तयार पारेर यो काठमाडौँको दीर्घकालीन विकासको लागि योजना बनाइरहेका छौँ।

र, उमेरका हिसाबमा पनि मलाई यही समय ठीक हो जस्तो लाग्छ। अहिले म ३१ वर्षको भएँ, पहिला अलि कम परिपक्व थिए, अबको ५ वर्षमा म अहिलेजत्तिको जुझारु रहन्न। अनुसन्धानहरुले पनि ३० देखि ४० बिचको उमेर सबैभन्दा धेरै सक्रिय हुने समय भन्ने गरेको छ।

पहिलो स्थानीय तहको चुनावमा उठेका नेताहरुसँग आश पनि थियो। अब आफैँ आउनुपर्छ भन्नेमा पक्का भए।

६) तपाईँको मेयर बन्ने घोषणा ‘अटेन्सन ग्राब’ गर्न चालिएको कदम भनिएको थियो नि!

म र्‍यापर हो। मलाई ‘अटेन्सन ग्राब’ गर्न केही गर्नुपर्दैन। झन् अहिले म ‘नेपहपको श्रीपेच’ को निर्णायक छु। त्यसमा यति धेरै अटेन्सन हुन्छ, त्यत्तिको लागि मेयरमा उम्मेदवारी दिनुपर्दैन ।

७) अरु पार्टीका नेताकार्यकर्तासँग कुराकानी हुन्छ कि हुँदैन ?

हुन्छ नि ! मैले उहाँहरुलाई तपाईँहरुले पार्टीलाई जिताउने कि काठमाडौँलाई भनेर मैले सोध्ने गरेको छु। ‘तपाईहरुले बाटो हिँड्दा धुलो खेपिराख्नुभएको छ, खोकी तपाईँलाई नै छ, दमको रोगी तपाईनै हो। बाटोको खाल्डोमा तपाई आफै लड्नुभएको छ। तपाईको घरकै फोहोर उठेको छैन। तपाईलाई चाहिएको के हो ?’

शान्त र सुन्दर, हरियो काठमाडौँ चाहिएको छ भने काठमाडौँलाई जिताउनुस्, पार्टीलाई जिताउनु छ भने त भन्नु केही छैन भन्ने गरेको छु।

८) विकासका कुरा गरिरहँदा काठमाडौँ महानगरपालिकामा विकास गर्न कहाँ बाँकी छ ?

हो, भौतिक संरचना काठमाडौँमा धेरै विकास भइसकेको छ। तर यो अव्यवस्थित छ। काठमाडौँ महानगरमा विकासलाई व्यवस्थापन गर्ने काम मात्रै हो, ठूलो ठूलो काम गर्नु पर्दैन।

पजल सल्ट्याउने जस्तो मात्रै ! अहिले भइरहको ठाउँमा बच्चा खेल्ने पार्क बनाउन सकिन्छ कि, जगिङ गर्ने ठाउँ बनाउन सकिन्छ कि, पोखरी बनाउन सकिन्छ कि भन्ने हो।

काठमाडौँमा पानीको एकदमै धेरै समस्या छ। त्यो समस्या समाधान गर्नलाई डेढ किलोमिटर बाई डेढकिलोमिटरको पोखरी चाहिने रहेछ।

त्यत्रो ठाउँ त काठमाडौँमा छैन, हामीले कुनै कलेज, सरकारी कार्यालयसँग, ठूलो कम्पाउन्ड भएको भवनसँग समन्वय गरेर पोखरी खनेर हाम्रो ग्राउन्ड वाटर रिचार्ज हुन्छ। यसले तल गएको बोरिङ माथि आउँछ। त्यसपछि इनारको तह माथि आउँछ अनि सँगै खोलाको तह पनि माथि आउँछ। त्यो पानीको चेन मिलाउने हाम्रो योजना छ।

पानी फोहोर भएपछि माटो फोहोर हुन्छ। यसले हाम्रो रहनशहन फोहोर हुन्छ, हामी दुर्गन्धित वातावरणमा बाँचिरहेका छौँ।

हामी तीन ‘प’ भन्छौँ, ‘पानी, पर्यटन र प्रदूषण’। यही चिजसँग जोडिएर विकास गरेमा सबै क्षेत्रको विकास हुन्छ।

९) विकास निर्माणमा स्थानीय तह, प्रदेश र केन्द्र सरकारको समन्वय कस्तो देख्नु भएको छ ?

काठमाडौँ महानगरपालिकाको आफ्नै बजेट छ। वर्षको २० अर्ब। बितको ५ वर्षमा महानगरले बजेटको ३५ प्रतिशत पनि प्रयोग गर्न सकिरहेको छैन। यहाँ प्रदेश र केन्द्रलाई दोष दिने ठाउँ छैन। किनकि भएकै बजेटलाई प्रयोग गर्न सकिरहको छैन। आफ्नो खल्तीको सक्काएर प्रदेश र केन्द्रलाई माग्न जाँदा नपाए पो केही भन्नु।

यो स्थानीय सरकार हो नि त ! उसलाई काम गर्न कुनै अपोजिशन हुँदैन, कतिपय कुरामा समन्वय गर्नुपर्छ। यी सबै कुरामा समन्वय गर्दै लगियो भने उसले केन्द्र र प्रदेशसँग सहयोग लिनु पर्दैन।

१०) तपाईँका योजनाहरु कार्यान्वयन गर्न भौतिक संरचना नभत्काई गर्न मिल्छ त ?

खाली ठाउँहरु धेरै छन्। बनिसकेको कुरालाई भत्काउने कुरा हुँदैन । भत्काउनै परे पनि सरकारले उचित मुआब्जा दिनुपर्छ । सरकारले घर भत्काउँदा ५० लाख रुपैयाँ लागत लागेको घर भत्काउँदा ५ लाख मुआब्जा दिने व्यवस्था हुँदा कसले मान्छ ? उचित मुआब्जा दियो भने अन्त किनेर बस्न सक्ने विकल्प हुन सक्छ।

अर्कोचाहिँ ४० ओटा घर भएको साँघुरो बस्तीलाई त्यहाँ टावरजस्तो घर बनाइदिने र उनीहरुलाई ठाउँ दिने भन्न मिल्छ। अपार्टमेन्ट दिन सकिन्छ। त्यो ठाउँको बाँकी क्षेत्रमा बच्चा खेल्ने पार्क, पोखरी बनाउन सकिन्छ।

ल्याण्ड पुलिङको सिद्धान्त सरकारले पहिला पनि गरेको थियो तर त्यसलाई कार्यान्वयन गर्न सकेन। सरकारले मानिसलाई बुझाउन जरुरी छ। सिंगापुरमा पनि यही अभ्यास भएको हो।

११) नेपाललाई सिंगापुर बनाउने घोषणा त पहिला नै भएको हो। अहिले त त्यसको मजाक बनाइन्छ नि !

नेताहरुको आलोचना किन भयो भन्दा नेताहरु आफै बुझ्दैनन्। उनीहरुले यो विषयमा पढेर आएका हैनन्। त्यही त म भन्छु, मेयरको पोस्टमा शिक्षा स्वास्थ्य जतिपनि कुराहरु छ, दिगो विकासको लागि के के टर्मिनलोजी छन् त्यो बुझ्ने व्यक्ति हुनुपर्छ।

१२) तपाईलाई कसले भोट दिन्छ होला?

काठमाडौँ महानगरपालिकामा तीन लाख २० हजारको हाराहारीमा भोटर मध्ये डेढ लाख युवाहरु हो। र सबै भोटर मध्ये डेढ लाख राजनीतिक पृष्ठभूमिका भोटर हैनन्। हामीले उहाँहरुलाई पनि लक्षित गरेका छौँ।

अर्को कुरा ठूला पार्टीमा आवद्ध व्यक्तिहरुले पनि यो पल्ट मेयरमा पार्टी हैन काठमाडौँ जोगाउने भन्नु भएको छ। यसले मलाई उर्जा र उत्साह दिइरहेको छ।

१३) राजनीतिक पार्टीको साथ बिना लड्दा जित्न नसकेको धेरै उदाहरणहरु पनि छन् नि !

हो हामीलाई राजनीतिक पार्टीको साथ सपोर्ट छैन, तर हामीलाई साधारण नेपाली जनताको सहयोग छ। माथिका टाउकाका नेताले भनेर केही फरक पर्छ जस्तो लाग्दैन।

तपाईले भोग्नुभएको समस्याको समाधान खोज्नेतिर जानुहुन्छ होला नि हैन?

नागरिकहरुलाई थाहा छ, हामीले सातै प्रदेशमा विभिन्न किसिमका कामहरु गरेर देखाइसकेका छौँ। पाँचखालमा २५ घरहरुको डिजाइन, कन्स्ट्रक्सन गरायौँ। त्यो कामहरु हेर्न सकिन्छ ।

१४) काठमाडौँमा तपाईँले जित्नुभयो भने अबको ५ वर्षमा के के देख्न पाउँछौँ त ?

पहिलो काम काठमाडौँको सम्पदा, सँस्कृति र पर्व जोगाउने हुन्छ।

काठमाडौँमा भएको ९१ ओटा स्कूलहरुलाई ‘कोल्याबरेटिभ’ रुपमा लाने, शिक्षकलाई तालिम दिने, यहाँको आयुर्वेद, योगका कुराहरु पढाउने। आइटी कोडहरु सिकाउने । जसले गर्दा भोली विदेशीलाई काठमाडौँका हरेक मानिसले गाइड गर्न सक्छ।

साताको एक दिन विद्यार्थीलाई जे बन्न इच्छा छ, त्यो सीप सिकाउने ।

स्वास्थ्यमा हामीले हरेक वार्डमा एउटा क्लिनिक बनाउने योजनामा छौँ, जहाँ नागरिकले छ,छ महिनामा आफ्नो रोगको पहिला नै पहिचान गर्न सकोस्।

स्थानीय सुशासन पारदर्शी बनाउनको लागि अनलाइन पेमेन्ट गर्ने, नगरसभानको बैठकलाई लाइभ गर्न सकिन्छ । जसले भष्ट्राचार नियन्त्रण गर्न मद्दत पुग्छ।

१५) तपाई जस्तै थुप्रै वैकल्पिक उम्मेदवार छन्, हार्नुभयो भने ?

वैकल्पिक उम्मेदवारलाई म के भन्न चाहन्छु भने, कंग्रेस एमाले यस्ता थुप्रै पार्टी उठिरहेका छन् नि, त्यो बाहेक अरु १० जना जुध्यो भने भोट बाँडिन्छ, त्यसैले हामी चुनाव अगाडि सँगै बसौँ, १००० जना राखेर ‘प्रि भोटिङ गरौँ’ त्यहाँबाट जसले जित्छ त्यसलाई हामी सबैले सहयोग गर्नुपर्छ।

त्यसरी गर्‍यो भने जित्ने संभावना धेरै हुन्छ। सबै आफू आफू जुँधे भोट बाँडिने संभावना धेरै हुन्छ।

रह्यो कुरा हारजितको, मैले ‘हार्ने’ नै सोचेकै छैन।

भिडियाे: रविन आचार्य 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?