
काठमाडौँ – भारतका चर्चित अभिनेता सलमान खानले जेठको १४ गते दशरथ रंगशालामा कन्सर्ट ‘दबङ्ग रिलोडेड टुर’ गर्दैछन्। उनको उक्त भ्रमणबारे जानकारी दिनको लागि आयोजक ओडिसी इन्टरटेनमेन्टले बिहीबार सोल्टी होटलमा कार्यक्रम गरेको छ।
यो कार्यक्रममा सलमान खानका भाइ सोहेल खान उपस्थित थिए। कार्यक्रममा सोहेलले सलमानको तर्फबाट नेपाली दर्शकको लागि सन्देश पनि सुनाए।
सलमानले आगामी जेठमा हुने कन्सर्ट शान्त र रमाइलोका साथ सम्पन्न पार्न सहयोग गर्नका लागि सबैलाई अनुरोध गरेका छन्।
‘हामी कन्सर्ट गर्दा सबैभन्दा धेरै पीर हुने भनेको कन्सर्ट सजिलो तरिकाले सम्पन्न हुन्छ कि हुँदैन भन्ने नै हो। हाम्रो कार्यक्रम हेर्न सुन्दर बालबालिकाहरु पनि आउने गर्छन्। महिलाहरु आउने गर्छन्। कार्यक्रममा कहिलेकाहीँ धक्का हालाहाल हुने र महिलाहरुलाई पेल्ने गरेका घटनाहरु पनि सुनिने गरिएको छ। हामीलाई दर्शकको सुरक्षाको विषयमा धेरै चिन्ता हुने गर्छ। हाम्रा कार्यक्रम सञ्चालक मनिष पलले कतिपल्ट दर्शकलाई आफ्नो सिटमा बस्नको लागि अनुरोध नै गर्नुपरेको छ, ’ सोहेल खानले भने, ‘यो सुरक्षाको जिम्मेवारी हाम्रोभन्दा पनि स्थानीय प्रशासन, नेपाल सरकारको हो। हामी यो अनुशासन कायम रहोस् भन्नको लागि आग्रह गर्छौँ। ताकि दर्शकहरुले सम्पूर्ण रुपमा कार्यक्रमको मजा लिन पाउन।’
खानले कार्यक्रम समय अवधि शान्त होस् भन्ने कामना रहेको र कसैलाई पनि कुनै प्रकारको चोट नलागोस् भन्ने अपेक्षा रहेको बताएका छन्। कार्यक्रममा सहभागी हुँदा संयमता अपनाएर सहयोग गरेमा यो टुर सधैँ सम्झन लायक रहने उनले बताए।
तस्बिरः बर्षा शाह/देश सञ्चार।