
ट्वीटरले आफूलाई इलन मस्कबाट जोगाउनका लागि आफूलाई एकजुट रुपमा प्रस्तुत गरेको छ। मस्कले गरेको ‘होस्टाइल टेकओभर’ (शत्रुतापूर्ण अधिग्रहण) को प्रयासविरुद्ध ट्वीटरको बोर्ड एकजुट भएको हो ।
मस्कले बिहीबार सामाजिक सञ्जाल ट्वीटर ४३ बिलियन अमेरिकी डलरमा खरिद गर्ने प्रस्ताव गरेका थिए । मस्कलाई रोक्नका लागि ट्वीटरले ‘सीमित अवधिका शेयरधनी अधिकार योजना’ का रुपमा नयाँ नियम ल्याएको छ ।
‘पोइजन पिल’ का रुपमा पनि चिनिने सो नियम अनुसार कुनै पनि व्यक्तिले संस्थाको १५ प्रतिशत भन्दा बढी शेयर खरिद गर्न पाउने छैनन् । अरु खरिद कर्तालाई छुटमा शेयर किन्न दिएर यस्तो गरिने छ ।
ट्वीटरको बोर्डले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई आफ्नो बारे बिस्तारमा बताएको छ । मस्कबाट भएको अवान्छित, गैर–बाध्यकारी अधिग्रहण प्रस्तावका कारण आफूहरुले नयाँ नियम लागु गर्नु परेको ट्वीटरले वक्तव्यमा उल्लेख गरेको छ ।
कुनै एक कम्पनीले अर्को कम्पनीको व्यवस्थापन (ट्वीटरको सवालमा कार्यकारी बोर्ड) को इच्छा विपरित अधिग्रहको प्रयास गरेमा त्यसलाई शत्रुतापूर्ण अधिग्रहण भन्ने गरिन्छ ।
होस्टाइल टेकओभर रोक्नका लागि पोइजन पिल अन्तिम अस्त्रका रुपमा लिने गरिएको छ । ट्वीटरको पोइजन पिल आउँदो वर्षको अप्रिल १४ सम्म कायम रहने छ ।
यसअघि ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवालले मस्कको प्रस्तावबाट कम्पनी ‘होस्टेज’ नहुने बताएका थिए ।
मस्कले भने आफूसँग वैकल्पिक योजना (प्लान बी) रहेको बताएका छन्।