काठमाडौँ – नेपालमा पछिल्लो समय हाइड्रोपावर कम्पनी खुल्ने क्रम जारी छ। सँगसँगै यस क्षेत्रमा लगानी गर्नेको पनि ठूलै जमात छ। सेयर बजारमा लगानी गरेजस्तै हाइड्रोपावर कम्पनीमा युवापुस्ताले लगानी गर्न थालेका छन्।
सेयर बजारमा गरेको लगानी कतै खेर नजाने भएकाले युवापुस्तासमेत यसमा लगानी गर्न आकर्षित भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)का गण्डकी प्रदेशका सचिव सुशील पोखरेल बताउँछन्।
सरकारले पछिल्लो समय देशभित्र पर्याप्त विद्युत् उत्पादन भएको र खपत बढाउनुपर्ने बताउँदै आएको छ। फलस्वरुप हाइड्रोपावर कम्पनी खुल्ने र यस क्षेत्रमा लगानी गर्नेहरू बढेका छन्।
‘हाइड्रोपावरमा गरिएको लगानी सुरक्षित छ र लगानी गरेको लाभांश पनि पाइरहनुभएको छ’, पोखरेल भन्छन्, ‘नेपाल विद्युत् प्राधिकरण पनि अहिले आएर आफैमा सक्षम भएको छ। त्यसले गर्दा पनि हाइड्रोपावरमा गरिएको लगानी सुरक्षित छ भन्ने जनमानसले बुझिसकेका छन्।’
पर्यटनपछि स्वदेशी र विदेशी लगानी समेटेर आर्थिक उपार्जनका लागि हाइड्रोपावर सेक्टर एक महत्वपूर्ण माध्यमका रूपमा लिन सकिन्छ। नेपाल सरकारले समेत पछिल्लो समय ऊर्जा क्षेत्रलाई महत्वसाथ राखेको छ। पछिल्लो समय हाइड्रोपावर कम्पनी खुल्ने क्रम बढ्दै गए पनि यसमा थुप्रै चुनौती छन्।
सरकार र निजी क्षेत्रबीच तालमेल नमिल्दा ऊर्जा क्षेत्रमा केही चुनौती देखापरेका छन्। सरकारको तर्फबाट ऊर्जा क्षेत्र प्रवर्द्धनका लागि बनेका हरेक नीति नियम कार्यान्वयन पक्ष फितलो रहेको पोखरेल बताउँछन्।
सरकारका तर्फबाट ऊर्जा प्रवर्द्धनका लागि भनेर जति पनि नीति–नियम बनेका छन् तिनीहरूको कार्यान्वयन पक्ष फितलो छ। उनी भन्छन्, ‘कार्यान्वयन पक्ष फितलो नभइदिएको भए ऊर्जा क्षेत्र अहिले जुन अवस्थामा छ, त्योभन्दा राम्रो हुने थियो।’
मन्त्रालयबीचको समन्वय प्रभावकारी नहुँदा पनि निजी क्षेत्रका लगानीकर्ताले अझै बढी दुःख भोग्नुपरेको छ। चुनौतीका बाबजुत पनि सरकारले दिएको १० हजार मेगावाटको उत्पादन लक्ष्य पूरा गरेरै छाड्ने जोडमा निजी क्षेत्र छ।
सरकारले पछिल्लो समय ऊर्जा क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेको छ। स्वदेशी उत्पादनलाई जोड दिँदै आत्मनिर्भर बन्ने सरकारको लक्ष्य छ।
आत्मनिर्भर भएसँगै छिमेकी मुलुक भारतबाट महँगोमा विद्युत् खरिद गर्नुपर्ने बाध्यताबाट छुटकारा मिल्नेछ। सरकारले विद्युत्मा आत्मनिर्भर मात्र नभइ निर्याततर्फ समेत जोड दिने तयारी गरिरहेको छ। भर्खरै भएको प्रधानमन्त्रीको भारत भ्रमणले पनि ऊर्जा क्षेत्रमा लगानी गर्न र उत्पादन बढाउनमा सहयोग पुगेको छ।
नेपालमा बर्खामा विद्युत आपूर्ति सहज हुँदै गए पनि हिउँदमा जलाशय अभावमा भारतबाट महँगो रकम तिरेर आयात गर्न बाध्य छ।
नेपालले उत्पादन गरेको विद्युत् पहिलो चरणमा छिमेकी मुलुक भारत पठाउने तयारी गरिरहेको छ। भारतमा नेपालले यसअघि पनि बर्खामा विद्युत् निर्यात गर्दै आएको छ।
विद्युत् सञ्चय गरेर राख्न नसकिने भए पनि हिउँदमा महँगो रकम तिरेर विद्युत् खरिद गर्नुपरेको पोखरेलले बताए।
‘नेपालका लागि हाडड्रोपावर सेक्टर विल्कुलै नयाँ भएकाले कहीँकतै सरकार र निजी क्षेत्रबीच तालमेल नमिलेजस्तो देखिएको हो,’ उनी भन्छन्, ‘हामी सयौं वर्षदेखि काम गरिरहेका छौँ। त्यसैले कहाँ नटबल्ट कस्ने कहाँ थप्नेसम्म सबै थाहा छ। हामीले सरकारलाई हेर्ने दृष्टिकोण र सरकारले हेर्ने दृष्टिकोण फरक छ।’
यद्यपि, नेपाल सरकारले वातावरण राम्रो बनाइदिए निजी क्षेत्र सरकारको लक्ष्यअनुसार विद्युत् उत्पादन गर्न तयार रहेको उनी बताउँछन्।नेपाली विद्युतीय बजारमा स्वादेशी तथा विदेशी कम्पनीसमेत लगानी गर्न इच्छुक रहेको उनी बताउँछन्।