
युक्रेनले मारिपोलको रक्षाका लागि ‘अन्तिमसम्म’ लडिरहेन बताएको छ । रुसी आक्रमणको गम्भीर निशानामा परेकाे रणनीतिक रूपमा महत्त्वपूर्ण तटीय शहर मारिपोल हाल घेराबन्दीमा छ ।
रुसले मारिपोल शहर अधिकांश रूपमा आफ्नो कब्जामा आएको दाबी गर्दै बाँकी रहेका सीमित युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न भनेको थियो ।
ज्यान जोगाउने भए हतियार बिसाएर आत्मसमर्पण गर्न रुसी रक्षा मन्त्रालयले आइतबारको समयसीमा दिएको थियो ।
तर युक्रेनले रुसको अल्टिमेटम अस्वीकार गर्दै अन्तिम समयसम्म आफ्नो भूमिको रक्षाका लागि लड्न बताएको हो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो भूमि र नागरिकलाई लिएर कुनै सम्झौता नगर्ने बताउँदै आएका छन् । तर रुसले भने आत्मसर्मपण गर्न अस्वीकार गर्ने युक्रेनी सैनिकलाई ‘एलिमिनेट’ (हत्या) गर्ने चेतावनी दिएको छ ।
युक्रेनले अन्तिम समयसम्म लड्ने बताए पनि मारिपोलमा रुसी सैनिकसँग लड्नका लागि आवश्यक सैन्य तथा अत्यावश्यक सामग्री भने पुग्न सकेका छैनन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मारिपोलको अवस्था अमानवीय रहेको भन्दै रुसले नियतवस नै मारिपोललाई पूर्ण रूपमा ध्वस्त पार्न चाहेको बताएका छन् ।
मारिपोलमाथि पूर्ण कब्जाको मार्गमा रहेको रुसका लागि गएको फेब्रुअरी २४ देखि थालेको युद्धमा हालसम्मकै ठूलो सफलता हुन सक्ने छ ।
रुसले लगातार गरिरहेको गोलाबारी तथा सडकमै भएका भीडन्तका कारण मारिपोल शहर अधिकांश रूपमा ध्वस्त भएको छ । मारिपोल शहरमा रुसी आक्रमणका कारण कम्तीमा २१ हजार युक्रेनीको मृत्यु भइसकेको छ ।
युक्रेनी प्रधानमन्त्री डेनिस शमिहालले एबिसीसँग भनेका छन्, ‘शहर अझैसम्म रुसको कब्जामा गएको छैन । त्यहाँ अझै पनि हाम्रा सैनिक छन्, उनीहरूले अन्तिमसम्म लड्ने छन् ।’
मारिपोल एजोभ समुद्रमा रहेको युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह शहर हो । यो बन्दरगाहबाट युक्रेनले खाद्यान्न, फलाम, स्टील, ठूला मेसिनसहितको निर्यात गर्ने गरेको छ ।
रुसले मारिपोल कब्जा गरेमा युक्रेनका लागि गम्भीर धक्का पुग्ने छ । मारिपोल कब्जामा लिएमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सम्झौता गर्नका लागि बाध्य पार्न सक्ने छन् ।