
घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा माटोको ढिस्को खस्दा पाँचथरको फिदिममा एक जनाको मृत्यु भएको छ ।
घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा पुजारीको काम गरिरहेका फिदिम-१ का ६५ वर्षीय गोपालप्रकाश ढुङ्गानाकाे मृत्यु भएको हो ।
फिदिम नगरपालिका-१ बुद्धमार्गका मदन पन्धाकको घडेरीमा घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा आज बिहान ८ बजे ढुङ्गानालाई माटोको ढिस्को र सेफ्टी ट्याङ्की झरेर पुरेको थियो ।
दुईवटा जेसिबी मेसिनको सहायतामा करिब ५० मिनेटपछि ढुङ्गानाको उद्दार गरी जिल्ला अस्पताल पुर्याइएकाेमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 0 घटनामा घर निर्माण गर्न लागेका मदनकी भतिजी साहिसा पन्धाककोसमेत शरीरको आधा भाग ढिस्कोले पुरेको थियो । उनलाई सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीले उद्धार गरेका थिए ।
मृतक ढुङ्गाना सेवानिवृत्त शिक्षक हुन् । उनले लामो समय फिदिम नगरपालिका-४ स्थित सुखबोध माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए ।
ढुङ्गाना नेकपा माओवादी केन्द्र प्रदेश नं १ सल्लाहकार कमिटीका सदस्यसमेत हुन् । मृतकलाई जिल्ला अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।