
नेट्फ्लिक्सका सब्स्क्राइबर पछिल्लो एक दशक भन्दा लामो समयमा पहिलोपटक कम भएका छन् ।
‘स्ट्रिमिङ्ग’ कम्पनी नेट्फ्लिक्सले यो वर्ष (सन् २०२२) को पहिलो तीन महिनामा दुई लाख सब्स्क्राइबर गुमाएको हो ।
नेट्फ्लिक्सले यसअघि सन् २०११ को अक्टोबर त्रैमासिकमा आफ्ना सदस्य (सब्स्क्राइबर) गुमाएको थियो । अझै पनि विश्वभर नेट्फ्लिक्सका २२० मिलियन सब्स्क्राइबर छन् ।
मंगलबार नेट्फ्लिक्सले दिएको जानकारी अनुसार एक दशकभन्दा लामो समयमा पहिलोपटक सब्स्क्राइबर कम भएको देखिएको हो ।
अमेरिका, बेलायतसहितका प्रमुख बजारहरूमा मूल्य बढाएको तथा रुसमा सेवा रोकेपछि नेट्फ्लिक्सका सब्स्क्राइबरमा कमी आएको हो ।
आउँदा दिनमा सब्स्क्राइबर थप कम हुने सम्भावना रहेको नेट्फ्लिक्सले उल्लेख गरेको छ ।
हालसम्म एउटै एकाउन्ट साझा गरेर विभिन्न व्यक्तिले प्रयोग गर्ने गरेका छन् । तर, अब नेट्फ्लिक्सले त्यसलाई नियन्त्रणका गर्नका लागि कडा नियमन गर्ने सम्भावना छ ।
शेयरधनीलाई पठाएको पत्रमा नेट्फ्लिक्सले आउँदो जुलाईसम्ममा थप २० लाख सब्स्क्राइबर गुम्ने सम्भावना रहेको चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।