
हुम्ला- नाम्खागाउँपालिका-६ लिमी उपत्यकाका बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाउन पाएका छैनन् ।
लिमी जाने दुबै नाका हिमपातले बन्द हुँदा स्वास्थ्यकर्मी खोप सामग्री लिएर जान नसक्ने अवस्था नभएपछि लिमीका बालबालिकाले खोप लगाउन नपाएका हुन्।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले जिल्लाभर टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन भइरहेकाे भए पनि लिमीमा भने सो खोप नपुगेको जानकारी दिए।
अध्यक्ष तामाङले लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा र पाँचहजार मिटर अग्लो न्यालु लेकमा हिउँ जमेको कारण बाटो नखुलेपछि स्वास्थ्यकर्मी जान नसक्ने अवस्था रहेको बताए।
हाल लिमीमा उक्त खोप लगाउने सत्तरी जना बालबालिका छन् ।
नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याचो लामाले उनले बाटो खुल्ने बित्तिक्कै खोप लिएर स्वास्थ्यकर्मी लिमी जाने तयारीमा रहेको बताए ।
नाम्खा गाउँपालिकामा एक हजार एक सय टाइफाइडविरुद्धको खोप लगाउने उमेर समूहका बालबालिका रहेका र त्यसमा वडा नम्बर १ देखि ५ सम्मका ९६० जनालाई खोप लगाउने कार्य पूरा भएको छ ।