
ठूलोमा मात्रामा रहेका रुसी सैनिकको घेराबन्दीमा परेर पनि मारिपोल सहरमा रक्षात्मक संघर्ष गरिरहेका युक्रेनी सैनिकका कमाण्डरले सहयोगका लागि ‘अन्तिम’ अपिल गरेका छन्।
रणनीतिक रूपमा महत्त्वपूर्ण बन्दरगाह सहर मारिपोलको अधिकांश क्षेत्रमा रुसी सैनिकले कब्जा गरेका छन् । हाल मारिपोलको एजोभ्स्ताल स्टिल प्लान्ट क्षेत्रमा युक्रेनी सैनिकको नियन्त्रण छ।
रुसले आत्मसमर्पणका लागि अल्टिमेटम दिए पनि उनीहरूले त्यसलाई मानेका छैनन्। मारिपोलमा रहेको युक्रेनी मेजर सर्हिय भोलिनाले भिडियो सन्देश जारी गरेर ‘विश्वलाई आफूहरूको अन्तिम सम्बोधन’ हुन सक्ने उल्लेख गरेका हुन्।
रक्षात्मक संघर्ष जारी राखे पनि रुसी सैनिकको तुलनामा आफूहरू निकै कम भएको र आवश्यक सैन्य सामग्रीको पनि गम्भीर अभाव रहेको बताएका छन्। रुसले आत्मसमर्पणका लागि दिएको समयसीमा गुज्रिएको छ। कुनै पनि युक्रेनी सैनिकले रुस सामु आत्मसमर्पण गरेका छैनन्।
मेजर भोलिनाले तत्काल सहयोगका लागि आग्रह गरेका छन्। उनले आफ्ना सैनिकहरूले आफ्नो जीवनको अन्तिम समयको पर्खिरहेजस्तो अवस्था रहेको भन्दै तत्काल निकास खोज्न अपिल गरेका छन्।
मारिपोलमा हाल कति युक्रेनी सैनिक छन् भन्ने स्पष्ट छैन। तर २५ सयभन्दा कम युक्रेनी सुरक्षाकर्मी स्टिल प्लान्ट क्षेत्रमा रहेको दाबी गरिन्छ। त्यहाँ एक हजार सर्वसाधारणले पनि आश्रय लिएका छन्।
मेजर भोलिनाका अनुसार पाँच सय सैनिक घाइते भएको जानकारी दिएका छन्।
उनले युक्रेनी सैनिकको आत्मविश्वास अझै पनि उच्च भए पनि रुसी सैनिकको संख्या आफूहरूको तुलनामा दर्जनौँ गुणा बढी रहेको बताएका छन्।
आफूहरूलाई तत्काल सैन्य सामग्री चाहिएको उनले उल्लेख गरेका छन्। रुसी सैनिकले गोलाबारी, स्थल आक्रमण तथा ट्यांकहरूको प्रयोग गरेको मेजरले बताएका छन्।