
काठमाडाैँ- गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिवेश लोहनीले मनाङका अतिसंवेदनशील मतदान केन्द्रको निरीक्षण गरेका छन्। उनले जिल्लाका अतिसंवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गरेका हुन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्थाको विश्लेषण तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन लोहनी मनाङ आएका हुन्।
विकट तथा संवेदनशील क्षेत्रमा शान्त र सुरक्षित तवरबाट मतदान गराउन उनले जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
मुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्धनका लागि जिल्लामा रहेका २८ मतदानस्थललाई तीन तहमा बाँडिएको छ।
पाँच मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको आचार्यले बताए।
भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, सामाजिक संरचनालगायत आधारमा पाँच मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको उनले बताए।
पन्ध्र मतदानस्थललाई संवेदनशील तथा आठ मतदानस्थललाई सामान्यमा राखिएको छ।
अतिसंवेदनशील र संवेदनशील रूपमा वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ आचार्यले बताए।
सोहीअनुसार स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलको सुरक्षा, मतपेटिका गणनास्थलसम्म सुरक्षित रूपमा लैजाने योजनासहित सुरक्षा प्रबन्ध मिलाइएको आचार्यले जानकारी दिए।
मनाङमा २८ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन आयोगको तथ्याङ्कअनुसार जिल्लामा ६ हजार ४९६ मतदाता छन्। पुरुष तीन हजार १४८ र महिला मतदाताको सङ्ख्या तीन हजार ३४८ रहेको छ।