
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ।
राखेपको बोर्ड बैठक तीन वर्षदेखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो।
राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए।
खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागिताको विषय गरी मुख्य २ प्रस्तावमा छलफल गरेर निर्णय लिने बताइएको छ।
राखेपको सदस्य सचिव र बोर्ड सदस्यको विवादका कारण लामो समयदेखि बोर्ड बैठक बस्न सकेको थिएन। खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तीमा दुई पटक बस्नुपर्ने व्यवस्था छ।
राखेपको बोर्ड बैठकलाई खेलकुदसम्बन्धि नीति, आगामी योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरी पास गर्ने अख्तियारी पनि खेलकुद ऐनले दिएको छ।