
काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ए-३३० वाइडबडी विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अपरेशन फ्लाइट’का लागि सो विमान उडेको हो।
दिउँसो ३ बजे उड्ने भनिएको वाइडबडी दुई घण्टा ढिला गरी ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो।
विमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत गरी करिब २६० जना यात्रु बोकेर उडेको हो। जहाजको सिट क्षमता २ सय ७४ रहेको छ।
जहाज करिब २७ मिनेटको उडानपश्चात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ।
विमानस्थल सञ्चालनका लागि योग्य भएको सन्देश प्रवाह गर्न यस्तो उडान गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रेवतले बताएका छन्।
विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आह्वान गर्नु अगाडि यस्तो उडान गरिएको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेबाट व्यवसायिक उडान सुरु हुँदैछ। पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्दैछ।