
काठमाडौँ – पोखरा महानगरपालिकामा बागी उम्मेदवार र गठबन्धनको विषयलाई लिएर बिहीबार दिनभरजसो तनाव भयो।
महानगरमा बागी उम्मेदवार र वडामा गठबन्धनको तालमेलबारे सहमति नहुँदा विवाद भएको हो। सत्ता गठबन्धनको भागबन्डाअनुसार पोखरा महानगरपालिकाको प्रमुख नेकपा (एकीकृत समाजवादी)ले पाएको छ।
सबै ३३ वटै वडा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिएको छ। यद्यपि केन्द्रको निर्देशनमा भने ३ वटा वडा माओवादी केन्द्रलाई दिने तयारी भएपछि कार्यकर्ताले यसको विरोध गरेका छन्। केन्द्रले तालमेलका लागि निर्देशन दिएको छ भने सोही निर्देशनअनुसार जान माओवादीले माग गर्दा कांग्रेस कार्यकर्ता आक्रोशित बनेका छन्।
कांग्रेसले पोखरा महानगरका वडामा तालमेल गर्न नसक्ने भनेपछि माओवादीले असन्तुष्टि जनाएको छ। वडा नम्बर १८, २२ र २४ माओवादी केन्द्रले माग गरेपछि कांग्रेसका कार्यकर्ता आक्रोशित भएका हुन्।
वडा नम्बर १८ को अध्यक्षका लागि उम्मेदवारी दिएका कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले माओवादीलाई कुनै पनि हालतमा तीनै वटा वडाका सिट दिन नहुने बताए।
पोखरा महानगरका सबै वडामा माओवादी तेस्रो दल रहेकाले अध्यक्ष सुम्पिनु भनेको हार्नु भएको उनको तर्क छ।
‘माओवादीले दाबी गरेर मात्रै हुँदैन, स्थानीयले मत पनि दिनुपर्छ’, उनले देश सञ्चारसँग भने, ‘म वडाको अध्यक्षको उम्मेदवार हुँ, मैले वडाको विकासमा महत्वपूर्ण योगदान गरेको छु।’ साथै, पार्टीको वडा समिति पनि आफैँ भएकाले स्थानीयले सर्वसम्मत आफूलाई जिताउने उनले विश्वास व्यक्त गरे।
पार्टीको १३औँ महाधिवेशनमार्फत वडाको सभापति बनेका उनी १४औँ महाधिवेशनबाट पनि सभापतिमा दोहोरिएका हुन्। तर, माओवादीका कार्यकर्ताले भने गठबन्धनमा सिट तालमेल गर्दा अन्याय भएको आरोप लगाएका छन्।
पोखरा महानगरको प्रमुख र उपप्रमुख एकीकृत समाजवादी र कांग्रेसले राखेको तथा सम्पूर्ण वडामा कांग्रेसले एकलौटी उम्मेदवार उठाएको भन्दै केही वडा माओवादीले मागेको हो। तर, कांग्रेसले महानगरकै प्रमुख एकीकृत समाजवादीलाई सुम्पिएका कारण वडामा आफ्ना उम्मेदवार उठाएको बताएको छ।
यस विषयमा केही समयदेखि विवाद हुँदै आए पनि चुनावको मुखैमा कांग्रेस र माओवादीका कार्यकर्ता आ–आफ्ना मागमा अडान राख्दै नाराबाजी, झडप र तालाबन्दीमा उत्रिएका हुन्।
सत्ता गठबन्धनले स्पष्ट नीति नलिँदाको परिणामको रूपमा यसलाई पोखराका स्थानीय नेता–कार्यकर्ताले लिएका छन्।
तालमेलको विषयलाई लिएर पोखरामा जस्तै घटना नभए पनि यस्तै प्रकृतिका विवाद भने लगभग सबै तहमा छन्। महानगर र उपमहानगरको विवादले बढी चासो र चर्चा पाए पनि तल्लै तहसम्म विवाद छताछुल्ल भएको छ।
असन्तुष्टिका कारण बिहीबार पोखरामा गठबन्धनको साझा घोषणापत्र सार्वजनिक कार्यक्रमसमेत प्रभावित हुन पुग्यो।
प्रहरी परिचालन गरेरै घोषणापत्र सार्वजनिक कार्यक्रम गर्नुपर्यो भने नाराबाजी र झडपमा उत्रिएका २० जनाभन्दा धेरै कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२०७४ को निर्वाचनमा पोखरा महानगरका ३३ वटा वडामध्ये कांग्रेसले ११ वटामा एक्लै जित निकालेको थियो।
यसपालि त्योभन्दा राम्रो माहोल बनेको भन्दै कार्यकर्ताले सबै वडामा उम्मेदवारी दिन नेतृत्वसँग माग गरेका हुन्।
विवाद स्थानीय स्तरमा साम्य नभए केन्द्रबाटै निर्णय लिने तयारी रहेको पोखरा महानगरपालिका कार्यसमितिका सचिव गणेशबहादुर थापाले बताए।

पोखरा महानगरका गठबन्धनका उम्मेदवार समाजवादीका धनराज आचार्य। तस्बिर: रासस
महानगरपालिकामच गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दिएका छन्।
कांग्रेसले प्रमुख पदमा उम्मेदवारी नपाएका अन्य धेरै स्थानमा बागी उम्मेदवार अघि बढेजस्तै पोखरामा पनि तीन जनाले उम्मेदवारी दिएका छन्।
महानगरका बागी उम्मेदवारमा कांग्रेसका ऋषि सापकोटा, नन्द तिवारी र विमल कार्की छन्। सापकोटा कास्की जिल्ला कांग्रेसका पूर्वकोषाध्यक्ष तथा तिवारी जिल्लाका पूर्व उपसभापति हुन्। बागी दिएका तीनै जना अहिले सक्रिय राजनीतिमा भने छैनन्।
कास्की कांग्रेसले गठबन्धन नगरी मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय र केन्द्रले कुनै पनि हालतमा गठबन्धनसहित जानुपर्ने निर्देश गरेपछि विवाद भएको हो।
कांग्रेसले ३३ वटै वडामा उम्मेदवार उठाएर आफ्नै ढंगले चुनाव प्रसार गरेको छ भने माओवादी आफूले पनि वडामा प्रमुख पाउने दाबी गरिरहेको छ। यद्यपि, कसले कुन–कुन वडा पाउने टुंगो लागिसकेको छैन। जिल्ला र केन्द्रको फरक–फरक निर्णयले किचलो भएको छ। विवाद साम्य पार्न केन्द्र तहबाट हालसम्म शीर्ष नेताले पहल नगरेको स्थानीय नेताले गुनासो गरेका छन्।