काठमाडौंँ- ‘द हिडन ट्रेजर’अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपाल प्रतियोगिताले समाज र देशको लागि ‘रोल–मोडल’ उत्पादन गर्दै आइरहेको बताएका छन्।
उनले लामो समयदेखि मिस नेपाल आयोजना गर्दै आएको हिडन ट्रेजरले मिस नेपाललाई सुन्दरी प्रतियोगिताको रुपमा मात्र नभई समाज र देशको लागि रोल मोडल उत्पादन गर्दै आएको बताएका हुन्।
मिस नेपाल २०२२ को लागि गत सोमबारबाट देशभर अडिसन जारी रहेको उनले बताएका छन्।
‘मिस नेपाल प्रतियोगिता सञ्चालन गरिरहँदा थुपै चुनौतीहरु सामना गर्नुपरेको अनुभव राजकर्णिकार सुनाउँछन्। मिस नेपाल भन्ने बित्तिकै सुन्दरीहरुको प्रतियोगिता हो भन्ने बुझाइ थियो हाम्रो समाजमा जसलाई हामीले हिजोआज चिर्दै गएका छौं,’ उनी भन्छन्, ‘हामीले त समाजको लागि रोल मोडल तयार गरिरहेका छौं। राम्रो मुहार भएको मान्छे मात्र यो प्रतियोगितामा सहभागी हुनुपर्छ भन्ने होइन। अहिलेसम्म केही क्षमता भएका व्यक्तिले नै मिस नेपालको ताज जितिरहेका छन्।’
मिस नेपालमा सहभागी हुनेहरुलाई अडिसन पश्चात चार हप्तासम्म तालिम दिइने उनी बताउँछन्। ‘मिस नेपालमा सहभागिहरुलाई हामीले चार हप्तासम्म ट्रेनिङ दिन्छौं। उनीहरुलाई हरेक तरिकाबाट सक्षम बनाउँछौं,’ उनी भन्छन्, ‘मिस नेपालको ताज सुन्दर मुहार भएकाले मात्र जित्छन् भन्ने कुरालाई पर राखेर उनीहरुमा केही क्षमता पनि हुनु पर्छ भनेर नै हामीले ट्रेनिङका क्रममा पनि सिकाएका हुन्छौं।’
मिस नेपाल जस्ता ब्युटी प्याजेन्टहरुले नेपालको नाम उच्च राख्दै आएको भएपनि सरकारले यस क्षेत्रलाई बेवास्ता गरेको उनी बताउँछन्। ‘नेपाल सरकारले हामीलाई आर्थिक रुपमा समेत कुनै सहयोग गरेको छैन,’ उनी भन्छन्, ‘यस्ता ब्युटी प्याजेन्टहरु त नियमित रुपमा हुने हुन् यस्तोमा सरकारले लगानी गरेर पर्यटन क्षेत्र विकास लगायतका लागि पनि कामहरु गर्न सक्छ नि।’
सरकारले आर्थिक रुपमा केही सहयोग गरे आफूहरुले मिस नेपालमा सहभागी हुनेहरुलाई अझै राम्रो तरिकाले ट्रेनिङ दिन सक्ने अवस्था सिर्जना हुने उनी बताउँछन्।
‘बाह्य देशहरुमा नेपाललाई प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागी हुन जाँदा त्यहाँ नामले कसैलाई पनि बोलाउँदैन त्यहाँ ब्यक्तिलाई होइन देशलाई चिन्छ। नेपाल भनेर नै बोलाउँछन्,’ उनी भन्छन्, ‘यसरी पनि त देशको नाम चिनिएको छ। नेपाल नाम नै नसुनेका व्यक्तिहरु पनि प्रतियोगितामा आएका हुन्छन्। यस यर्थमा पनि यस्ता प्रतियोगितामा सरकारको भूमिका महत्वपूर्ण हुनु पर्ने हो तर दुर्भाग्य हाम्रो देशले खासै वास्ता गरेको छैन।’
ब्युटी प्याजेन्टहरुमा हाल नेपाल बाह्य देशहरुमा पनि चिनिँदै गएको उनी बताउँछन्। उनी भन्छन्, ‘मिस नेपाल बिजेताहरु मिस वर्ल्डहरुमा पनि सहभागी हुन जानुभएको छ। त्यहाँ सहभागि हुने मात्र होइन ब्युटि हुइत् परपोज, हेड टु हेड च्यालेज जुस्ता थुप्रै टाइटलहरु समेत जित्नुभएको छ। जसका कारण पनि नेपाल बाह्य देशहरुमा चिनिदै गएको छ।’
मिस नेपालको ट्यागलाई सामान्य नलिन उनी बताउँछन्। ‘हिजोआज मिस नेपालको ट्याग पाउनु एउटा महत्वपूर्ण उपाधि जित्नु जस्तै बनिसकेको छ,’ उनी भन्छन्, ‘एउटा सामान्य व्यक्तिलाई समाजसेवा गर्न पनि एउटा आधार चाहिन्छ जुन मिस नेपालले दिइरहेको छ।’
मिस नेपालमा सहभागी हुन चाहनेहरुलाई हिडन ट्रेजरले निशुल्क सहभगिता गराउँदै आएको छ। ‘हामीले निशुल्क आवेदन लिदै आएका छौं। आवेदनपछि अडिसनबाट छानिएमा चार हप्ताको ट्रेनिङदेखि मिस नेपालमा पहिरहने ड्रेससम्म सबै हामीले फ्रीमा उपलब्ध गराउँछौं,’ उनी भन्छन्, ‘त्यसैले मिस नेपालमा सहभागी हुन धनी हुनुपर्छ भन्ने छैन।’
मिस नेपाल प्रतियोगितामा सहभागीले गत सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्ने उनी बताउँछन्।
सहभागी हुनको लागि उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्ष हुनुपर्ने छ ।
अडिसन काठमाडौँलगायत धरान, वीरगञ्ज, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । काठमाडौँमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुने उनले बताएका छन्।
हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार ४ मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।
यस वर्ष ‘मिस नेपाल वर्ल्ड,’ ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी तीन मात्र मुख्य टाइटल रहनेछन् । ‘मिस सुप्रानेसनल’ फ्रेन्चाइजलाई भने यस वर्ष निरन्तरता नदिइने भएको छ ।