
काठमाडौँ – लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेर चर्चा कमाएका नायक भुवन केसी राजनीतिमा प्रवेश गरेका छन्।
उनी आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। उनलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्।
कलाकारहरू यतिबेला राजनीतिमा पनि जोडिन थालेका छन्। आज नायक केसीसँगै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र नायिका श्वेता खड्का पनि कांग्रेसमा प्रवेश गरेका छन्।
‘कलाकारलाई राजनीतिक दलले चुनावको प्रचार गर्नको लागि मात्र प्रयोग गरेको पाइन्छ। कलाकारले पनि राज्यलाई हाँक्न सक्छन्। यसैलाई प्रमाणित गर्न मैले कांग्रेस रोजेको हुँ’, नायक केसीले देश सञ्चारसँग भने।
०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए। त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो। त्यसपछि राजनीतिमा खासै सक्रिय नदेखिएका उनी फेरि चुनावकै मुखमा कांग्रेसमा प्रवेश गरेका हुन्।
उनले यसअघि पनि काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवारी दिँदै छन् भन्ने हल्ला थियाे।