
काठमाडौँ- स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरु अन्य महानगरपालिकाको तुलनामा बढी चर्चित छन्। सत्ता गठबन्धन र प्रतिपक्षी दलको तर्फबाट उठेका उम्मेदवारबाहेक स्वतन्त्र र अन्य पार्टीबाट उठेका उम्मेदवारले समेत मुलुककै ध्यान खिचेका छन्। सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेकी सिर्जना सिंह लामो समयपछि राजनीतिमा फर्किएकी हुन्। नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमि भएको कारण मेयर बनाउन लागिएको आरोप उनीमाथि छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंह पार्टी सभापति बन्ने दौडबाट पछि हटिदिएको गुन तिर्न वा उपहारस्वरुप सभापति शेरबहादुर देउवाले सिंहकी पत्नी सिर्जनालाई काठमाडौंको प्रमुख बन्न सघाएको भन्ने टिप्पणी सुनिएका छन्। श्रीमानसहित परिवारका अन्य सदस्य सक्रिय राजनीतिमा लागेकाले घर सम्हालेको भन्दै आएकी सिर्जना अचानक राजनीतिमा आएर काठमाडौंको प्रमुख बनिन् भने कुन अनुभवले काम गर्लिन् भन्ने प्रश्न पनि छ। सत्ता गठबन्धनमा आवद्ध कांग्रेससहित सबै दलले पत्याएर सिर्जनालाई मेयरमा उठाए पनि यहाँका जनताले उनलाई पत्याउलान् कि नपत्याउलान्- त्यो चुनावी परिणामले देखाउँछ। उनले सेवा र सुशासन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा, दिगो पर्यावरणसहित सात वटा संकल्पहरु अगाडी सारेकी छन्।
गोरखा जन्मघर भएकी सिंह २०३३ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेकी हुन्। २०३५ देखि ३८ सालसम्म काठमाडौंस्थित महाबौद्ध क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाइ सभापति बनेकी थिइन् उनी।
त्यसपछि शंकरदेव क्याम्पसमा हालकी उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्पा भुसाललाई पराजित गर्दै स्ववियु कोषाधयक्ष भएकी थिइन् । नेपाली कांग्रेसले सिर्जनाको यो इतिहासलाई ओजपूर्ण ठान्ने गरेको छ । २०४२ सालमा प्रकाशमान सिंहसँग बिबाह भएपछि उनको राजनीतिक यात्रा लगभग रोकियो भन्दा पनि हुन्छ । २०५४ सालदेखि नेपाल महिला संघ काठमाडौं जिल्ला समितिको सल्लाहकारको रुपमा जोडिएपनि उनी पारिवारिक विरासतले छायाँमा परिन्। यद्यपि उनले आफूलाई एक कुशल समाजसेवीको रुपमा सक्रिय राखेको दाबी गरेकी छन्। लामो समयपछि अचानक मेयर बन्ने प्रयासमा रहेकी उनले गृहिणी भत्ताको नारा, सामाजिक सञ्जालको सक्रियता, पारिवारिक विरासतको कारण काठमाडौंको भोट तान्न भने सक्नेछिन्। नेवार समुदाय भित्रका अन्य राजनीतिक दलका मतदाताले पनि भोट दिने उनको दाबी छ।
नेकपा एमालेको तर्फबाट महानगरपालिकामा मेयरको उम्मेदवार बनेका केशव स्थापितलाई पार्टीले काम गर्न सक्ने व्यक्तिको रुपमा अघि सारेपनि पछिल्लो समय उनी आफ्नै कारण विवादित बनेका छन्। यौन दुराचारको आरोप र उक्त आरोपबारे सार्वजनिक कार्यक्रममा सोधिएको प्रश्नबारे स्थापितले देखाएको अभिव्यक्तिले उनी विवादमा आएका हुन्। यसबारे निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। स्थापितको उम्मेदवारी खारेजीको माग गर्दै ओरेक लगायत ४५ वटा गैरसरकारी संस्थाले निर्वाचन आयोगमा सामूहिक विज्ञप्ति जारी गरेका छन्। यसअघि स्थानीय निकायको निर्वाचनमा काठमाडौंको मेयर बनेका स्थापित यसपालि पनि दोहोरिन सक्ने सम्भावना देखिएको बेला विवादित बनेकाले मत घट्न सक्ने आंकलन गरिएको छ। स्थापितले २०५४ सालको चुनावमा मेयर बन्दा गरेका केही राम्रा कामको अहिले पनि प्रशंसा हुने गरेको छ। अहिले माइतीघर मण्डला रहेको खालि स्थानमा त्यतिवेला सडक अतिक्रमण गरेर निर्माण गरिएका घरहरु भत्काएर माइतीघर मण्डला निर्माण गरेको श्रेय उनलाई जाने गर्छ। स्थापितले हिम्मत गरेर माइतीघर मण्डला निर्माण गरेको भनेर प्रशंसा गर्नेहरु छन्। यस्तै काठमाडौं उपत्यकाका केही सडकखण्ड र आकासेपुल निर्माणमा पनि उनले योगदान गरेका छन्। स्थापितलाई राम्रो मत आउने भनिए पनि आफ्नै गैरराजनीतिक अभिव्यक्ति र गतिविधिका कारण मत घटाउन खोजेको भनेर आफ्नै कार्यकर्ताले आलोचना गरेका छन्।

केशव स्थापित
स्थापित विवादित बन्दै गर्दा यसको फाइदा गठबन्धनको उम्मेदवारलाई पुग्न सक्छ। पाँच दलीय गठबन्धनको समर्थनमा अघि बढेकी महिला उम्मेदवार र कम विवादित भएका कारण सिर्जनाको भोट बढ्न सक्छ। स्थापित अहिले जुन पार्टीको तर्फबाट मेयरको उम्मेदवारमा अघि बढेका छन्, सोही दल एमालेमै अडिग भएर लागेको इतिहास पनि छैन। २०५४ सालको स्थानीय निकायको निर्वाचनमा एमालेको तर्फबाट उठेर काठमाडौंको मेयर बने पनि पार्टी विभाजनपछि उनी मालेमा गएका थिए। २०५९ मा एमाले र मालेको एकता भएपछि उनी एमालेमा फर्किए। २०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्र शाहले सत्ता लिएसँगै उनी दरबारसँग समेत निकट बन्न पुगेका थिए।
एमाले छोडेर प्रजापरिषदमा आवद्ध भएका स्थापित २०६४ सालको संविधानसभा निर्वाचनमा फेरि एमालेमै फर्किएका थिए। एमालेको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि उनी फेरि माओवादीसँग नजिकिएका थिए। बागमती प्रदेशको भौतिक मन्त्रीसमेत बनेका उनि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज र अपशब्द बोलेको आरोपमा बर्खास्तीमा परेका थिए। त्यही बेला उनलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप पनि लगाएका थिए।
महानगरपालिकाको प्रमुखमा सिंह र स्थापितलाई मुख्य प्रतिस्पर्धीको रुपमा लिइएको छ भने स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा पनि धेरै मत आउने आंकलन छ । मेयरको निर्वाचनमा पर्ने प्रभावको पाटोमा उनले मत जित्लान् वा काट्लान् मात्रै भन्ने प्रश्न उब्जिन्छ। काठमाडौँ उपत्यकामा दलीय मतदाता मात्रै नभई तटस्थ मतदाता पनि छन् जुन मत बालेनले पाउन सक्नेछन्। यसअघि काठमाडौंको मेयरमा उम्मेदवारी दिएका रन्जु दर्शना र किशोर थापाले राम्रो मत पाएका थिए। पढेलेखेका शिक्षित युवा र कलाकारहरुले समर्थन गरेका कारण पनि बालेनले पनि धेरैको मत पाउने पक्का छ। उनले र्याप गायकका रुपमा राम्रो परिचय बनाएका छन्। पारिवारिक पृष्ठभूमि राजनीतिक नभएपनि नेताको कार्यशैली र नीति मन नपरेर सुधारको आवश्यकता देखेर राजनीतिमा होमिएको उनी बताउँछन्। यसअघिकै निर्वाचनमा मेयरको उम्मेदवारी दिन खोजे पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिने वा कुन दलसँग जोडिने भन्ने स्पष्ट नहुँदा उनी पछि हटेका थिए। पाँच वर्षमा आफूलाई तयार गरेर उनी चुनावमा होमिएका हुन। उनको राजनीतिक दल छैन। वडा तहमा मत दिने कार्यकर्ता र केन्द्र तहबाट गर्ने संरक्षण छैन। सामाजिक सञ्जालमा बालेनको उम्मेदवारीलाई लिएर चर्चा भएपनि उनलाई भोट दिने खास मतदाता को हुन् भन्ने पनि स्पष्ट छैन।
विवेकशील साझा पार्टीको तर्फबाट महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटालाई पनि काठमाडौंबासीले सम्भावना बोकेको उम्मेदवारको रुपमा ग्रहण गरेका छन्। उनले काठमाडौं स्कुल अफ ल बाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन्। पूर्व गृह राज्यमन्त्री दीपक प्रसाद बास्कोटाकी छोरी समेत रहेकी समीक्षा विद्रोही स्वाभावकी छिन्। राजनीतिक रुपमा कांग्रेस पृष्ठभूमि भएकी उनी नेपाललाई कल्याणकारी राज्य बनाउने अभियानमा भएको बताउँछिन्। उनकी दिदी शान्ता बास्कोटा नेपाली कांग्रेसकी नेतृ हुन्। पिता र परिवारको राजनीतिक संस्कार देख्दै, सिक्दै र आफुले थप अध्ययन गरेर उनी माझिँदै आएकी छन्। अघिल्लो निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर (क) को उम्मेदवार बनेकी थिइन्। त्यतिबेला उनले करिब २७ प्रतिशत मत ल्याएर तेस्रो स्थान हासिल गरेकी थिइन्। समीक्षा अर्गानिक चिया उत्पादन गर्ने बास्कोटा ग्रुपको प्रमुख कार्यकारी अधिकृत हुन् भने काठमाडौं उपत्यकामा नयाँ पुस्तालाई नेवारी सभ्यता चिनाउने काम पनि गर्दै आएकी छन्। यसले नेवारी समुदायका मतदाताको भोट आउन सहयोग पुग्नेछ। अधिवक्ता समेत रहेकी समीक्षा कल्याणकारी राज्यको वकालत बढी गर्ने गर्छिन्।
अघिल्लो चुनावमा महानगरमा २३ हजार भन्दा धेरै मत पाएको विवेकशीलले यसपाली पनि वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गर्न खोजेको छ। तर अहिले पार्टी एक ढिक्का नभएको कारण मत घट्न पनि सक्छ । यसै त नयाँ पार्टी त्यो पनि विभाजित हुँदा त्यसको क्षति समीक्षालाई पर्न जाने स्पष्ट छ। उनलाई पार्टीको संगठन बलियो नहुँदा समस्या छ। पार्टी भएपनि संगठन चुस्त नहुँदा उनी त्यस्को मर्कामा छिन्। भाषण कला अब्बल बनाउँदै लगेकी उनले राजनीति गर्ने क्षमता पनि बढाउँदै छिन्। काठमाडौं महानगरको प्रमुख बन्ने दौडमा रहेकी उनी प्रमुख नै बन्न नसके पनि प्रतिष्पर्धीको भारी मत काट्न सक्ने विश्लेषण छ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएका मदनदास श्रेष्ठले प्रतिस्पर्धीको झिनो मत काट्नेछन्। लामो समयदेखि कलाकारिता गरेका उनी राप्रापबाट मेयरमा उठेका हुन्। टुटुफुटको इतिहास र सानो दल भएको कारण राप्रपाको पार्टी संगठन कमजोर छ भने काठमाडौं महानगरपालिकामा समेत राजनीतिक पृष्ठभूमिको व्यक्ति उठाउन नसक्दा राप्रपालाई किन भोट दिने भन्ने प्रश्न उब्जिन्छ। कलाकारको रुपमा स्थापित भएका श्रेष्ठलाई उनको लोकप्रियता र पार्टीलाई गरेर धेरै मत आउने राप्रपाको दाबी छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विक्रम सम्वत २०७० सालमा भएको निर्वाचनमा प्राप्त जनमत फर्काउने दाबी गरे। २०७० सालको संविधानसभा निर्वाचनमा राप्रपाले १ लाख ११ हजार मत ल्याएको स्मरण गर्दै श्रेष्ठले यो निर्वाचनमा सोही जनमत फिर्ता ल्याउने गरी चुनावको तयारी भइरहेको बताए । ७४ बर्षका चर्चित नाट्यकर्मी श्रेष्ठको सक्रियता र जोशको राम्रै चर्चा हुने गरेको छ।
राजेन्द्र लिङ्देन पार्टीका अध्यक्ष भैसकेपछि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको संरक्षणमा थप काम भएकोले राप्रपालाई मेयरमा चुन्न चाहनेहरु रहेको राप्राका नेताहरुको विश्वास छ। निर्वाचनमा होमिँदा सबै दल वा ब्यक्तिले आफूलाई बलियो र प्रतिस्पर्धीलाई कमजोर ठान्नु स्वाभाविकै भएपनि काठमाडौंको मेयरको सिटमा मदनदास श्रेष्ठ आइहाल्ने सम्भावना कम छ।
काठमाडौं महानगरपालिकामा १६२ पदको लागि ८५९ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ५६, उपप्रमुखमा ३३ र वडा अध्यक्ष पदका लागि २२१ जनाले उम्मेदवारी दिएका छन्। महानगरपालिकाको नेतृत्व लिन ५६ जना मैदानमा भए पनि प्रतिस्पर्धा मुख्य प्रतिस्पर्धा एमालेको तर्फबाट उम्मेदवारी दिएका स्थापित र सत्ता गठबन्धनकी सिर्जना सिंहबीच हुनेछ भने स्वतन्त्र उम्मेदवार बालेन शाह र विवेकशील साझाकी समीक्षा बास्कोटालाई पनि कम आँक्न भने मिल्दैन। राप्रपाका श्रेष्ठले पनि पार्टी र व्यक्तिको गरी केही मत ल्याउने देखिएको छ।