काठमाडौँ – गाँजाबाट पनि कस्मेटिक्स सामान बन्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर, ‘डाभा ग्रिन गोल्ड’ले गाँजाबाट बनेका स्याम्पु, साबुन, तेललगायत विभिन्न कस्मेटिक्स सामानको उत्पादन गर्दै आएको छ।
‘डाभा ग्रिन गोल्ड’ नेपाल एयरलाइन्सका पूर्वक्याप्टेन पवनराज जोशीको उपज हो। पवनका अनुसार ‘डाभा’ भनेको तिवेतियन भाषाको शब्द हो। कुनै पनि ब्रान्डिङ गर्दा ग्राहकले सम्झिन सजिलाे हुने नाम राख्नुपर्ने उनको तर्क छ। सम्झिने खालको नाम सोच्दै जाँदा यो नाम जुरेको उनी बताउँछन्।
गाँजालाई ‘ग्रिन गोल्ड’ भनेर पनि व्याख्या गरिने उनको भनाइ छ। उनी भन्छन्, ‘किनभने यो ग्रिन हुन्छ। र, अर्को चीज चाहिँ यसबाट कुनै पनि कुरा खेर जाँदैन। यसको जरादेखि लिएर केही पनि खेर जाँदैन।’
जोशीले गाँजासम्बन्धी काम गर्न थालेको लगभग १० वर्ष भयो। १० वर्षको दौरानमा उनले गाँजाको सामान उत्पादनसँग सम्बन्धित १०-१२ वटा उद्योगको भ्रमण गरे।

आफ्नो जीवनको केही समय उनले अमेरिकामा बिताए। नेपाल एयरलाइन्समा करिब १९ वर्ष काम गरेका उनी अहिले भने ‘मेडिकल्ली रिटायर्ड’ भएका छन्। त्यसपछि नै उनी यस क्षेत्रमा अझ अरू केही गर्छु भनेर मरिमेटेर लागिपरेका छन्।
नेपालमा गाँजा खेती गरेमा आर्थिक हिसाबमा धेरै नै सहयोग मिल्ने उनको विश्वास छ। उनी भन्छन्, ‘यदि सरकारले गाँजालाई लिगलाइज्ड गरेमा बाहिर गएकामध्ये ५० प्रतिशत नेपालीलाई नेपालमा रोजगारी दिन सक्छु भन्ने आँट चाहिँ छ।’
भारतमा समेत सन् २०२० देखि गाँजाखेतीलाई वैधानिकता दिइएको भन्दै अब पनि नेपालमा गाँजा ‘लिगलाइज्ड’ नभएमा नेपाल धेरै पछाडि पर्ने उनको दाबी छ।
पवनका अनुसार ‘डाभा ग्रिन गोल्ड’ औपचारिक रूपमा सन् २०२१ मा सुरु भएको हो। यद्यपि पसल भने २०१८ बाट नै सुरु गरेको उनी बताउँछन्।
सुरुमा ‘डाभा’ले ‘हेम्प सिड’को तेल मात्र बनाउँथ्यो। तर, अहिले उनीहरूले पूर्ण क्षमतामा कस्मेटिक्स सामानमा ध्यान दिन थालेका छन्।
यस्तै, केही लुगा र ब्यागहरू पनि राख्न थालिएको छ। उनीहरूसँग अहिले ३५ थरीका प्रोडक्ट छन्। अबको १५ दिनभित्रमा थप तीन प्रोडक्ट पनि आउने उनले जनाए।

‘डाभा’का कस्मेटिक्स सामान शतप्रतिशत प्राकृतिक भएको उनको दाबी छ।
डाभाका कुनै पनि प्रोडक्ट बनाउन कम्तीमा १४ दिन लाग्छ। साबुन बनाउन भने कम्तीमा २८ दिन लाग्छ।
जोशी भन्छन्, ‘ह्यान्डमेड हो सबैकुरा। रअ मेटेरियलमा कुनै चिजहरू हामी आफैँ पनि आयात गरिरहेका हुन्छौँ। कुनै चिजहरू लोकल मार्केटमै लिन्छौँ।’
‘डाभा’ले हाल १२-१४ जनालाई रोजगारी दिएको उनले बताए।
उनी भन्छन्, ‘सामानहरू चण्डोलमा एक कारखानामा बनाइन्छ। यहाँ चाहिँ ५-६ जना छौँ। यहाँ ज्ञानेश्वरबाट मार्केटिङ हेरिन्छ।’
पवनका अनुसार लोकल गाँजाको बोटमा जुन दाना हुन्छ, त्यसलाई हेम्प सिड भनिन्छ। त्यसबाट सेपरेट मेसिनको प्रयोगमा तेल निकालिन्छ। यसलाई पेलेर निकालेको तेलबाट कस्मेटिक्स सामानहरू बनाइन्छ।
‘३५ देखि ४० डिग्री सेल्सियसको तापमान प्रयोग गरिन्छ कोल्ड प्रेस गर्दा’, पवन भन्छन्।
उनका अनुसार विश्वभर गाँजाका १२ हजारभन्दा बढी प्रोडक्ट छन्। उनी भन्छन्, ‘संसारमा यति धेरै प्रोडक्ट कुनै पनि आइटमको छैन।’
र, यसको सबैभन्दा ठूलो मार्केट भने चीनले लिएको उनले जानकारी गराए।

विश्वमा ३८ देखि ४० देशमा गाँजा वैधानिक भएको उनी बताउँछन्। पवन थप्छन्, ‘जति देशमा गाँजा लिगलाइज्ड छ, ती प्रत्येक देशमा गाँजा खेती गरिन्छ।’
हेम्प ‘कार्बोन फ्री क्लोथ’ भएकाले अष्ट्रेलियामा स्कुलको युनिफर्मदेखि लिएर ब्याग तथा मोजासमेत हेम्पको हुने उनी बताउँछन्।
‘डाभा’को दरबारमार्ग र लबिम मलमा गरी दुईवटा आउटलेट छन्। आफूले अर्को आउटलेट खोल्नका लागि कोसिस गरिरहेको उनकाे भनाइ छ।
डाभाका उत्पादन पाउनको लागि यसको अफिसियल फेसबुक पेजमार्फत् अर्डर गर्न सकिन्छ।

भर्खरै
लोकप्रिय






































































































































































































