
बुटवल- कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा उपप्रमुख उम्मेदवारको मृत्यु भएको छ।
नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावती कुर्मीको सोमबार राति एक बजे निधन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निवर्तमान उपप्रमुखसमेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको हृदयघातका कारण निधन भएको बताइएको छ।
कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन्।
उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए।
निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रियाअघि बढ्ने पनि उनले बताए।