
काठमाडौँ– दक्षिण भारतीय चलचित्र ‘पुष्पा : द राइज’ पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र हो। चलचित्रका संवाद तथा कलाकारका हाउभाउ पछिल्लो समय चर्चामा रहेका छन् ।
‘पुष्पा’ चलचित्रमा अल्लु अर्जुनको ‘पुष्पा झुकेगा नहीं’ डायलगले निकै लोकप्रियता कमाएको छ। पछिल्लो समय अल्लुको शैलीलाई कलाकारदेखि खेलाडीसम्मले पछ्याएको देखिन्छ। सोही शैलीको प्रभाव नेपाली खेलाडीसम्म परेको छ ।
एक महिना अगाडि पपुवा न्युगिनीविरुद्ध विकेट लिएपछि करण केसीले ‘झुकेगा नहीं’ शैलीमा सेलिब्रेसन गरेका थिए।
पछिल्लो समय सोही शैलीलाई नेपालकी अलराउन्डर क्रिकेटर सीता राना मगरले पछ्याएकी छन्। जुन भिडियो सामाजिक सञ्जालमा निकै चर्चित भएको छ।
दुबईमा जारी फेयरब्रेक इन्भिटेसनल टुर्नामेन्टमा विकेट लिएपछि सीताले ‘पुष्पा’ शैलीमा सेलिब्रेसन गरेकी हुन् ।
विकेट लिएपछि उनी खुसी हुँदै पुष्पाको ‘झुकेगा नहीं’ शैलीमा सेलिब्रेसन गरेकी हुन्। सोही भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले समेत उक्त सेलिब्रेसनको भिडियो पोस्ट गरेको छ। सुरुमा फेयरब्रेकले नै उक्त भिडियो पोस्ट गरेको थियो। त्यस्तै फेयरब्रेकले सीताको प्रतिक्रियासमेत पोस्ट गरेको छ।
द टोर्नाडोजमार्फत खेलिरहेकी सीताले मे ६ मा द साउथ कोस्ट सफायरका खेलाडीको विकेट लिएपछि सेलिब्रेसन गरेकी हुन् । त्यस्तै उनले फिल्डिङका क्रममा क्याच लिएपछि पनि सोही शैलीमा खुसियाली मनाएकी थिइन्।
‘पुष्पा’ का मुख्य कलाकार अल्लुको शैली नेपालीहरूको पहिचानसँग मेल खाने भएकाले सेलिब्रेसनमा प्रयोग गरेको सीताले बताएकी छि । उनले भनेकी छन्, ‘नेपालीहरू वीर गोर्खालीका रूपमा पनि परिचित छन्। ‘पुष्पा’को शैली नेपालीहरूसँग पनि मेल खान्छ, त्यसैले मैले सेलिब्रेसनका क्रममा यो शैली प्रयोग गरेकी हुँ।’
१ मेदेखि १५ मेसम्म सञ्चालन हुने फेयरब्रेक इन्भिटेसनल टुर्नामेन्ट विश्वभरका महिला क्रिकेटर संलग्न प्रतियोगिता हो। यो प्रतियोगितामा सीतासहित नेपालका २ जना खेलाडी रहेका छन्। रुबिना क्षेत्री द बार्मी आर्मीबाट खेलिरहेकी छन्।
“It’s gone so far on social media."
Nepal’s Sita Rana Magar with the most popular celebration currently 😄
📽️ @fairbreakglobal pic.twitter.com/wlTRf0KeFt
— ICC (@ICC) May 10, 2022