
काठमाडौं- नयाँ बानेश्वरबाट तीनकुने जाने बाटोमा गत राति भएको ग्यास सिलिण्डरबारे अझै केही खुल्न सकेको छैन।
स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा संसद भवनलाई लक्षित गरी ग्यास सिलिण्डर राखिएको हुनसक्ने स्थानीयले अनुमान गरेका थिए। यद्यपि यस सन्दर्भमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता तथा एसपी दिनेशकुमार मैनालीले बताएका छन्।
उनका अनुसार बिहान २ बजेको समयमा केही विस्फोट भएजस्तो आवाज सुनिएपछि के रहेछ भनेर सोधीखोजी थालिएको थियो।
‘केही पड्किएको जस्तो आवाज आयो त्यसपछि हामीले के रहेछ भनेर बुझ्दा ग्यास सिलिण्डर रहेछ,’ उनी भन्छन्, ‘सिलिण्डर कस्ले पड्कायो किन पड्कायो भन्नेबारेमा हामी अनुसन्धान गरीरहेका छौं।’
निर्वाचन लक्षित गरेर अराजकता फैलाउन ग्यास सिलिण्डर विस्फोट गराएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
मैनाली भन्छन्, ‘अफवाह फैलाउने सोचले मात्र यस्तो गतिविधि गरेको रहेछ भने हामी खोजी गरी कानुन अनुसार कार्वाही गर्छौं।’
संसद भवनको १ नम्बर गेट नजिकै सो विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोट कस्ले र किन गरायो भन्नेबारे थप अनुसन्धान भइरहे पनि अहिलेसम्म केही पत्ता नलागेको मैनालीले बताएका छन्।
घट्ना स्थलबाट प्रहरीले ‘नेकपा सिवादी’ को पर्चा समेत फैला पारेको छ।
घट्नाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।