
बुटवल- गुल्मीको धुर्कोट गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन।
धुर्कोट गाउँपालिका-४ जैसीथोकमा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार गोपाल थापामाथि नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेपछि दलहरूबीच सहमति हुन नसक्दा मतगणना सुरु हुन नसकेकाे हाे।
शुक्रबार साँझ गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरी गफ गरेर बसिरहेको अवस्थामा थापामाथि आक्रमण हुँदा उनको टाउकोमा गम्भीर चोट लागेको छ।
उनीमाथिको आक्रमण रोक्न खोज्दा निरन्जन कुँवर, सन्जयलगायतका ४ जना घाइते भएका छन्। कांग्रेसले माओवादीका नेता एवम् पालिका अध्यक्षका उम्मेदवार भुपाल पोख्रेलको निर्देशनमा माओवादीका कार्यकर्ताले आक्रमण गरेको भन्दै मतगणना सुरु गर्न असहमत भएको छ।
आक्रमणको निर्देशन दिने पोख्रेलले घटनाको जिम्मा लिँदै माफी नमागेसम्म मतगणना हुन नदिने कांग्रेसको अडान छ।
नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार महेन्द्र प्रसाद भण्डारीले व्यक्तिमाथि आक्रमण गरिनु पराजित मानसिकताको संकेत भएको भन्दै अपराधीलाई कडा कारबाहीको माग गरेका छन्।
उनले मतगणना सुरु भएपछि पनि यस्ता घटना हुनसक्ने भएकाले माओवादीले घटनाको जिम्मा लिनुपर्ने र कारबाहीको प्रतिबद्धता भएमात्र मतगणना सुरु गर्न सकिने बताए।
अहिले मतगणनास्थलमा नेपाली सेनाले पहरा दिइरहेको छ।