
काठमाडौँ – निर्वाचन आयोगले मतगणना कार्यलाई प्रभावित नपार्न सम्बन्धित सबैलाई गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मतगणना कार्यमा भएका सामान्य त्रुटिलाई पनि अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाइ गर्ने गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्य जारी रहेको अवस्थामा मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई पनि उचालिएकोप्रति यसो नगर्न आयोगले सजग गराएको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको गतिविधिबाट आयोगको पूर्व योजनाअनुसार ज्येठ ५ गतेअगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर परेको छ। मतगणना निर्देशिकाको व्यवस्था, आयोगबाट दिइएको निर्देशन तथा विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जिज्ञासामा आयोगबाट गरिएको निर्णयसमेतको आधारमा जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने कार्यमा आयोगलाई सहयोग गर्न अनुरोध छ ।
सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्नेे, मतगणना कार्यमा खटिएका कर्मचारीले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिका (संशोधनसहित) को अध्ययन गरी मतगणना कार्य छिटोभन्दा छिटो सम्पन्न गर्न आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि व्यवस्थित र अनुशासित भएर छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न गराउन सबै सरोकारवालासँग आयोग आग्रह गर्दछ, आयोगको विज्ञप्तिमा उल्लेख छ ।\