
काठमाडौँ – पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना रोकिएको छ। कांग्रेसको बढी मत आउन थालेपछि एमालेका कार्यकर्ताले विवाद गर्न थालेपछि मतगणना कार्य एक घन्टादेखि रोकिएको हो।
वडा नम्बर ७ एमालेको पकड क्षेत्र भएको र कांग्रेसलाई कसरी र किन भोट गयो? भन्दै एमालेले कांग्रेसका प्रतिनिधिसँग विवाद गर्न थालेपछि मतगणना नै रोकिन पुगेको हो।
अहिले सर्वदलीय बैठक बोलाएर छलफल गरी विवाद टुंग्याउने प्रयास गर्न लागिएको छ। पोखरा महानगरमा हालसम्म ४० प्रतिशत मत गनेर सकिएको छ।
पोखराका ३३ वटा वडामध्ये वडा नम्बर १, २, ३, ४, ५, ११, १२, १३, २३ र २४ वडाको मत गनेर सकिएको छ। ६ र २५ नम्बर वडाको मत गणना कार्य अन्तिम चरणमा पुगेको छ।
वडा नम्बर ८ र ९ को गणना जारी छ भने वडा नम्बर २७ को सुरु हुन लागेको महानगर पालिकाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पोखरामा ६ ठाउँमा मतगणना भइरहेको छ। कार्यालयका अनुसार हालसम्म ४० हजार हाराहारी मत गनेर सकिएको छ।