
काठमाडाैँ- सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ
काठमाडौँस्थित माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरूले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन्।
बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ।
‘बलात्कारीलाई सजाय दे’, ‘दोषीलाई कारबाही गर’, ‘बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर’, ‘बलात्कारसम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर’जस्ता नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरिएकाे थियाे।
प्रर्दशनकारीहरूले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिला नगर्न पनि सरकारलाई सचेत गराएका छन्।
एक युवतीले आठ वर्ष अघि सौन्दर्भ प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटकमार्फत् सार्वजनिक गरेकी थिइन्।
त्यसको विरोधमा शुक्रबार (हिजो) पनि प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रर्दशन गरिएको थियो भने संघीय संसद प्रतिनिधिसभाका सांसदहरूले पनि पीडित ती युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए।