बुटवलमा कांग्रेसका खेलराज पाण्डे विजयी, उपप्रमुखमा एमालेकी अर्याल

बुटवलमा कांग्रेसका खेलराज पाण्डे विजयी, उपप्रमुखमा एमालेकी अर्याल
+
-

बुटवल – बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय ३० हजार १ सय ३० मत ल्याई विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५ सय ३३ मतान्तरले पराजित गरेका हुन्। पराजित बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत ल्याएका थिए।

यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार सावित्रादेवी अर्याल २४ हजार ९ सय ४ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका उम्मेदवार चीनबहादुर गुरुङले १६ हजार ९ सय ८० मत ल्याएका छन्। निर्वाचन कार्यालयले अन्तिम परिणाम घोषणा गर्न बाँकी छ।

यससँगै कांग्रेसले बुटवल उपमहानगरमा २ दशकअघिको साख फर्काएको छ। यसअघि ०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मतान्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बर बढी मतले जितेका हुन्।

पाँचदलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गरे। पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले खुम्चिएको छ।

बुटवलका १९ मध्ये कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ। यसैगरी एमालेले वडा नंं १०, ११, १४, १८ र १९ जितेको छ। नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन्।

बुटवल उपमहानगरमा कांग्रेसले २ दशकपछि एमालेबाट नेतृत्व फर्काउन सफल भएको छ। यसअघि बुटवलमा ०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए।

०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भएका थिए।

को हुन् खेलराज पाण्डे ?

५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी– २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन्।

१३ वर्षको उमेरमै ०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आबद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरे।

आदर्श मावि स्याङ्जाबाट ०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे ०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए।

त्यसपछि ०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, ०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, ०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र ०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन्।

विद्यार्थी राजनीतिपछि तरुण दलमा आबद्ध पाण्डे ०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, ०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने ०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए।

०६७, ०७२ र ०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन्।

श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?