
कामठमाडौँ – धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ‘साम्पाङ’को जित सुनिश्चित भएको छ।
गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अग्रता कायम गरेपछि उनको जित सुनिश्चित भएको हो।
उनले कुल खसेको मतमध्ये ३ हजार २८४ मतगणना गर्न बाँकी रहँदा गठबन्धनका उम्मेदवार किशोर राईसँग ४ हजार २८१ मतको अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार साम्पाङले १९ हजार ५९७ मत प्राप्त गरेका छन्।
गठबन्धनका उम्मेदवार राईको मत १५ हजार ३१६ रहेको छ। एमालेबाट उम्मेदवार रहेकी मञ्जु भण्डारीको मत १२ हजार ३४८ छ।
यसैगरी, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता छ। उनले १९ हजार २८३ मत प्राप्त गरेका छन्।
एमालेका उम्मेदवार पदम इस्वोले १६ हजार ९१६ मत प्राप्त गरेका छन्। इस्वोभन्दा बेघा २३६७ मतले अगाडि छन्।
हाल धरानको वडा नम्बर १७ को मात्र मतगणना भइरहेको छ।